लक्ष्मी लघुवित्त सवा ९ करोड नोक्सानमा, इपीएस समेत ऋणात्मक, खराब कर्जा चुलिँदै
काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ करोड १७ लाख ८६ हजार रुपैयाँ नोक्सान बेहोरेको छ । लघुवित्तले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणमा संस्था नोक्सानमा रहेको देखिएको हो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाले १३ करोड ४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । समिक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी समेत घटेर २८ करोड ३५ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष संस्थाले ४० करोड ३९ लाख ४९ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो ।
साथै संस्थाको संचालन मुनाफा समेत यस अवधिसम्म ९ करोड १९ लाख २९ हजार रुपैयाँ नोक्सानमा रहेको छ । यसकारण पनि संस्थाले घाटा बेहोर्न पुगेको हो । संस्थाको यस अवधिसम्म इम्पेयरमेन्ट चार्ज बढेका कारण पनि संस्था घाटामा पुगेको हो ।
यस अवधिसम्म संस्थाको खराब कर्जा ३.३९ प्रतिशतबाट बढेर ९.४७ प्रतिशत पुगेको छ । खराब कर्जा बढ्दै जाँदा संस्थाको खुद ब्याज आम्दानी घट्दा नाफा आर्जन गर्न नसकेको हो ।
४४ करोड १६ लाख ६१ हजार रुपैयाँ चुक्तापुँजी रहेको यस संस्थाको जगेडा कोषको आकार सामान्य बढेर कोषमा २२ करोड २९ लाख रुपैयाँ संचित रहेको छ । गत वर्ष यस्तो कोषमा २१ करोड ३९ लाख रुपैयाँ संचित रहेको थियो ।
साथै संस्थाको प्रतिशेयर आम्दानी समेत २७.७१ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १८०.९९ रुपैयाँ रहेको छ । संस्थाले यस अवधिसम्म २ अर्ब ४१ करोड २२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६ अर्ब ३० करोड ३८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।