बाग्मती र लुम्बिनी प्रदेशको मोटर बीमा व्यवसाय सबैभन्दा धेरै, अन्य कुन प्रदेशबाट कति ?(सुचिसहित)
काठमाडौं । नेपालमा संचालित निर्जिवन बीमा कम्पनीहरुले चालु आवको तेस्रो त्रैमाससम्ममा मोटर बीमालेखबाट ९ अर्व ८८ करोड ७६ लाख रुपैयाँ आर्जन गर्न सफल भएका छन् ।
प्रकाशित वित्तीय विवरण अनुसार बीमा कम्पनीहरुको व्यवसायको मुख्य स्रोतको रुपमा मोटर बीमा देखिएको छ । चालु आर्थिक वर्षमा आर्थिक गतिविधि न्यून हुँदा बीमा कम्पनीहरु सरकारले अनिवार्य गरेको मोटर बीमामा कम्पनीहरु निर्भर रहेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
सरकारले अनिवार्य गरेको मोटर बीमा (तेस्रो पक्ष) मा जबरजस्ती बीमा गर्ने बाध्यकारी नियमले मात्रै निर्जिवन बीमाको व्यवसायमा राहत मिलेको देखिएको छ । तेस्रो पक्ष बीमा नभएसम्म सवारी साधन पास नै नहुने र लाईसेन्स नविकरण नहुने व्यवस्था रहेको छ ।
प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीहरुले चैत मसान्तसम्ममा बाग्मती प्रदेशबाट सबैभन्दा बढी मोटर बीमा लेखबाट बीमा शुल्क आर्जन गरेको छ । कम्पनीहरुले यस प्रदेशबाट समिक्षा अवधिसम्ममा ५ अर्व ४२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै दोस्रो नम्बरमा लुम्बीनी प्रदेश रहेको छ । समिक्षा अवधिसम्ममा बीमा कम्पनीहरुले यस प्रदेशबाट १ अर्व ३१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यसका साथै, समिक्षा अवधिसम्ममा कम्पनीहरुले कोशी प्रदेशबाट ९३ करोड ३० लाख, मधेश प्रदेशबाट ७७ करोड ३५ लाख, गण्डकी प्रदेशबाट ८८ करोड ६२ लाख र सुदुरपश्चिम प्रदेशबाट ३८ करोड ८६ लाख रुपैयाँ मोटर बीमा शुल्क आर्जन भएका छन् ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा मोटर बीमाबाट सबैभन्दा कम बीमा शुल्क कर्णाली प्रदेशबाट आर्जन भएको छ । समिक्षा अवधिसम्ममा यस प्रदेशबाट १२ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
संघिय सरकार र राजधानीदेखि भौगोलिक र व्यापारिक हिसावले पनि धेरै टाढा भएको कारण र सडक विस्तार कम भएकोले बीमा शुल्क कम आर्जन भएको प्रकाशित तथ्यांकले देखाएको छ ।