आर्थिक मन्दिपछि निर्जीवन बीमा कम्पनीको ब्यवसायमा सुधार आउँदै, चार कम्पनीको ब्यवसाय खस्कियो (तथ्याङ्कसहित)

१८ बैशाख २०८०, सोमबार १२:५९

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९।८० को चैत मसान्तसम्ममा ३० अर्ब एक करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्याङ्कअनुसार १६ निर्जीवन बीमा कम्पनीले ३० अर्बमाथि प्रिमियम कलेक्सन गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरुले सो अवधिसम्म आर्जन गरेको कुल बीमा शुल्क गत वर्षको यसै अवधिसम्मको तुलनामा ४.५८ प्रतिशत बढी हो । गत वर्षको यसै अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब ७० करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षमा बीमा कम्पनीहरुलाई मर्जरमा जान दबाद दिएसँगै निर्जीवन बीमा कम्पनीहरु एकआपसमा मर्ज भई एकीकृत कारोबार गर्दा बीमा ब्यवसाय बढ्न पुगेको देखिएको हो ।

हालसम्म निर्जीवन बीमा कम्पनीहरुको संख्या २० बाट घटेर १६ मा कायम हुन पुगेको छ । मर्जरपछि एकीकृत कारोबार गरेका चार निर्जीवन बीमा कम्पनीमध्ये सानिमा जिआइसी र हिमालयन एभरेष्ट इन्स्योरेन्सले यस अवधिसम्म बीमा ब्यवसाय बढाउन सफल भएको देखिएको छ भने सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको भने व्यवसाय खस्किएको तथ्याङ्कले देखाएको छ ।

सार्वजनिक विवरणअनुसार गत वर्षको तुलनामा यस वर्ष १६ निर्जीवन बीमा कम्पनीमध्ये १२ कम्पनीको निर्जीवन बीमा ब्यवसाय बढ्न पुगेको छ भने चारवटा कम्पनीको व्यवसाय खस्किएको छ ।

कुनले कति प्रगति गरे ?
गत वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी प्रिमियम कलेक्सन बढाउन सफल हुनेमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले गत वर्षको यसै अवधिसम्म एक अर्ब ४२ करोड प्रिमियमक कलेक्सन गरेकोमा यस वर्ष ३९.५६ प्रतिशतले कुल बीमा शुल्क आर्जन बढाएर चैत मसान्तसम्म एक अर्ब ९९ करोड प्रिमियम कलेक्सन गरेको छ ।

त्यस्तै, निर्जीवन बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै यस अवधिसम्म अजोड इन्स्योरेन्सले पनि १७.६६ प्रतिशतले व्यवसाय बढाउन सफल भएको छ । गत वर्ष एक अर्ब २२ करोड प्रिमियम कलेक्सन गरेको अजोडले यस अवधिसम्म एक अर्ब ४४ करोड बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, मर्जरमा सामेल भएको सानिमा जिआइसी इन्स्योरेन्सले पनि सो अवधिसम्म १४.६६ प्रतिशतले व्यवसाय बढाउन सफल भएको छ । त्यस्तै, नेशनलले १२.४४ प्रतिशत, शिखर इन्स्योरेन्सले ११.९४ प्रतिशत, आइएमई जनरलले ११.६२ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४.६६ प्रतिशत, प्रुडेन्सियलले ४.४० प्रीतशत, प्रभुले ४.३९ प्रतिशत, दि ओरियन्टलले ३.७६ प्रतिशत, एनएलजीले २.२२ प्रतिशत र नेको इन्स्योरेयन्सले १.०६ प्रतिशतले व्यवसाय बढाएको छ ।

व्यवसाय घट्ने चार कम्पनी
गत वर्षको तुलनामा यस वर्ष चार निर्जीवन बीमा कम्पनीको व्यवसाय खस्किन पुगेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी व्यवसाय घट्ने कम्पनीमा युनाइटेड इन्स्योरेन्स रहेको छ ।

गत वर्षको चैत मसान्तसम्म १ अर्ब २१ करोड प्रिमियम कलेक्सन गरेको युनाइटेले यस वर्षको चैत मसान्तसम्म जम्मा ९५ करोड ३२ लाख रुपैयाँ मात्रै प्रिमियम कलेक्सन गरेको छ । कम्पनीको व्यवसाय गत वर्षको तुलनामा २१.४५ प्रतिशतले घटेको हो ।

त्यस्तै, मर्जरमा सामेल भएका सिद्धार्थ प्रिमियरको ६.३८ प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३.४९ प्रतिशतले व्यवसाय खस्किएको छ । त्यस्तै, नेपाल इन्स्योरेन्सको पनि गत वर्षको तुलनामा यस वर्ष ३.२० प्रतिशतले व्यवसाय खस्किएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*