प्राइम, गुराँस र युनियनको मर्जरपछि बन्ने कम्पनी हिमालयन लाइफको नयाँ लोगो सार्वजनिक
काठमाडौं । गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ इन्स्योरेन्सबीच एकआपसमा मर्ज भई बन्न लागेको ‘हिमालयन लाइफ इन्स्योरेन्स’ कम्पनीको नयाँ लोगो सार्वजनिक गरिएको छ ।
यी तीनवटै कम्पनीबीच १ः१ः१ रेसियोमा मर्जरमा जाने सहमति भएको हो । समान हैसियतमा मर्ज हुन लागेका यी तीन जीवन बीमा कम्पनीले ‘हिमालयन लाइफ इन्स्योरेन्स’ नामबाट जीवन बीमा व्यवसाय सुरु गर्नेछन् ।
सार्वजनिक भएको लोगोमा तीनवटा आइकन देखाइएको छ । जसमा तीन तीन आइकन एकआपसमा आबद्ध देखिएको छ । अर्थात् प्राइम, गुराँस र युनियन तीन कम्पनी मर्ज भएर सिँगो मजबुत कम्पनी बन्न लागेको लोगोले देखाएको छ । ‘सुरक्षा अटल, भविष्य सबल’ भन्ने नारा लोगोमा समावेश गरिएको छ ।
नियामक निकाय नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्टार्डको कार्यालयले यी तीन कम्पनीको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । यी तीन जीवन बीमा कम्पनीले यहि वैशाख महिनाको अन्तिम सातामा एकीकृत कारोबार सुरु गर्ने जनाएको छ । मर्जर पश्चात कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार लाल कर्ण रहने सम्झौता भएको छ ।