मर्जरको अन्तिम चरणमा पुगेको प्राईम, गुराँस र युनियन लाइफका कर्मचारीलाई स्वेच्छिक अवकास योजनाः २ वर्षसम्मको तलब–भत्ता सुविधा
काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणबाट मर्जरको स्वीकृती पाईसकेको प्राईम, गुराँस र युनियन लाइफले आकर्षक सुविधासहित आफ्ना कर्मचारीहरुका लागि स्वेच्छिक अवकास योजना ल्याएको छ ।कम्पनीले एक्जुकेटीभ एजीएम, एसिईओ, सिनियर डिसिईओ देखि सहायक तर्फको कर्मचारीको लागि छुटाछुटै योजना ल्याएको हो ।
तीन कम्पनी एक आपसमा मर्ज भई बन्न लागेको कम्पनीमा कर्मचारीको विथलो हुने देखिएपछि यो योजना ल्याएको हो ।कम्पनीले एक्जुकेटीभ एजीएम, एसिईओ, सिनियर डिसिईओ लेभलमा कर्मचारीले स्वच्छिक अवकास योजनामा सरिक हुन चाहे न्युनतम ६ महिनाको तलब सुविधा पाउने सुविधा रहेको छ।
त्यस्तै, एक बर्षदेखि तीन बर्षसम्मको लागि दुई महिनाको तलब सुविधा थप, तीन वर्षदेखि पाँच वर्ष काम गरेकाले अतिरिक्त ६ महिना, पाँच वर्षदेखि १० वर्ष काम गरेकाले अतिरिक्त १० महिना र १० वर्ष भन्दा बढि अवधि काम गरेकाले थप १२ महिनाको तलब पाउने प्रावधान रहेकोछ ।
अफिसर जेओ देखि एसओसम्म्को हकमा आठ महिनाको तलब सु्विधा र कार्यअवधिको हकमा १४ महिनासम्मको तलब सुविधा थप गरिने योजना रहेको छ।
एसिस्टेन्टको हकमा १० महिनाको तलब सुविधाको साथै कार्य अवधिको हकमा १५ महिनासम्मको तलब सुविधा थप गर्ने प्रावधान रहेकोछ ।
त्यस्तै, अन्य विभिन्न पदको लागि १२ महिनाको तलब सुविधाको साथै कार्य अवधिको हकमा १६ महिनाको तलब सुविधा समेत दिईएकोछ ।
यी तीन कम्पनी एकिकृत कारोबार गरेर शुभारम्भ गर्न लागेको हिमालयन लाइफ इन्स्योरेन्सले मर्जरको स्वीकृतीको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृती दिईसकेको छ ।
तीनै कम्पनीको संयुक्त मर्जर कमिटीले हिमालयन लाईफका नामबाट कारोबार गर्ने सम्झौता माघ १ गते नै गरेका थिए ।हिमालयन लाइफको अध्यक्षमा युनियनका सुलभ अग्रवाल र सिईओमा पनि युनियन कै मनोज कुमार कर्ण रहनेछन् । त्यस्तै गुराँस लाइफका सिईओ र प्राइम लाइफका कामु सिईओ डेपुटी सिईओको रुपमा हुनेछन् ।प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स १ः१ः१ सेयर अनुपातमा गाभिने भएका हुन्।
तसर्थ, यी तीन वटै कम्पनीमा १०० कित्ता सेयर हुने सेयरधनीहरूले मर्जर पछि बन्ने कम्पनीको पनि १०० कित्ताकै दरमा सेयर पाउनेछन्।कम्पनीको मर्जरलगायतको कार्यहरू नियमित गरी कर्मचारी व्यवस्थापन र शाखाहरूको व्यवस्थापन सम्बन्धी कार्यलाई अघि बढाउने र समग्रमा एकीकृत कारोबार यथाशक्य छिटो सुरू गर्ने समेत सहमति भएको बताइएको छ।
तीन कम्पनी मर्ज भएर बन्ने हिमालयन लाइफको चुक्ता पुँजी ७ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ ।अन्तिम कारोबार बैशाखको अन्तिममा गर्ने तयारी भईरेहको मर्जर कमिटिका एक संचालकले बताए ।