चैतमा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे सवा ४ अर्ब बीमा शुल्क, शिखरको अग्रता कायमै, मर्ज गरेका कम्पनीहरुको देखियो प्रगति
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चैत महिनामा मात्रै ४ अर्ब १४ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको तथ्याङ्कअनुसार १६ निर्जीवन बीमा कम्पनीले चैतमा मात्रै सवा ४ अर्ब प्रिमियम कलेक्सन गरेका हुन् ।
सवैभन्दा बढी शिखर इन्स्योरेन्सले ८१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै दोस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३८ करोड २६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, तेस्रोमा धेरै प्रिमियम कलेक्सन गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । सो कम्पनीले चैत महिनामा ३७ करोड ७४ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ ।
साविक सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज भई ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार गरेपछि सो कम्पनीले पनि चैत महिनामा मात्रै ३६ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
यस्तै, नेको इन्स्योरेन्सले २८ करोड ४४ लाख, सानिमा जिआइसी इन्स्योरेन्सले २३ करोड ९८ लाख, एनएलजी इन्स्योरेन्सले २२ करोड ४३ लाख, आइएमई जनरल इन्स्योरेन्सले २१ करोड १८ लाख, अजोड इन्स्योरेन्सले २० करोड ७७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
साथै सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले १८ करोड ५६ लाख, युनाइटेड इन्स्योरेन्सले १६ करोड ८४ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले १४ करोड ९२ लाख, ओरियन्टल इन्स्योरेन्सले १४ करोड २४ लाख, नेपाल इन्स्योरेन्सले १४ करोड ७२ लाख, प्रभु इन्स्योरेन्सले १२ करोड ८५ लाख, र नेशनल इन्स्योरेन्सले ११ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।