तीन कम्पनीको साधारण सभा भोलि बस्दै, यस्ता छन् प्रस्तावहरु

२८ चैत्र २०७९, मंगलवार १६:५६

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सहित तीन कम्पनीको वार्षिक साधारण सभा भोलि (चैत २९ गते)बस्दैछ । सन नेपाल लाइफ इन्स्योरेन्स हिमालयन एभरेष्ट इन्स्योरेन्स र कालिका लघुवित्त वित्तीय संस्थाको साधारण सभा भोलि छुट्टाछुट्टै बस्नेछ ।

सन नेपाल लाइफ इन्स्योरेन्स
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दुई आर्थिक बर्षको साधारण सभा भोलि (चैत २९ गते)बस्दैछ । कम्पनीले पाँचौ र छैठौं वार्षिक साधारण सभा बोलाएको हो ।

चैत ७ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले याक एण्ड यती होटल, दरबार मार्ग, काठमाडौंमा अपरान्ह ४ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ र गत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

वार्षिक लेखापरिक्षणका लागि वर्तमान लेखापरीक्षक के.पि.आर एशोसियट्स, चाटर्ड एकाउन्टेन्टस् कृष्ण प्रसाद रेग्मी पुनः नियुक्त हुन योग्य भएको कम्पनीले बताएको छ । साधारण सभामार्फत छलफल र स्वीकृति गराई लेखापरीक्षक नियुक्ती हुनेछ ।

सभामार्फत प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा नियमनकारी निकायबाट संशोधनका सम्बन्धमा कुनै सुझाव वा निर्देशन भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गरिनेछ । कम्पनीको कर्पोरेट कार्यालयको ठेगाना परिवर्तनको विषय पनि सभाका लागि तय गरेको छ ।

नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ । सर्वसाधारणमा प्रतिकित्ता रू. १०० मा प्रिमियम वापत रू. १५० दशमलव ५० थप गरी प्रतिकित्ता रू. २५० दशमलव ५५ मा आईपीओ निष्कासन गर्ने तयारी कम्पनीले गरेको हो ।

कम्पनीले ९६ लाख कित्ता आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा फागुन १७ गते निवेदन दर्ता गराएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २४ करोड रहेको छ ।

हिमालयन एरभेष्ट इन्स्योरेन्स
लाभांश प्रस्तावसहित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण यहि चैत २९ गते बुधबार बस्दैछ । कम्पनीको २९औं सभा चैत २९ गते बानेश्वर, ब्याङ्क्वेट, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

यसका साथै सभामा बोनस शेयर जारी गर्दा भिन्न अंकमा आउने शेयरलाई संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात कायमै राखि नजिकको पुरा अंक कायम गर्ने प्रस्ताव पेश गर्नेछ । साथै बोनस शेयर जारी गर्दा तथा जारी तथा चुक्तापुाजी बृद्धि हुने भएबाट सोही अनुरुप प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत लैजानेछ ।

यसका साथै गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ । साथै चालु आव २०७०।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व गर्ने ३ जना शेयरधनीहरु निर्वाचित गर्ने सभाको एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ३ गते बुकक्लोज गरिसकेको छ । यसर्थ चैत २ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

कालिका लघुवित्त
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले तेह्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत ५ गते बसेको संचालक समितिको निर्णयले सभा चैत २९ गते, बुधबार, होटल टास्क इन्टरनेशनल प्रा.लि. को सभाहल, बुद्धचोक, पोखरामा बिहान ९ बजे बस्ने भएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले संस्थापक तथा सर्वसाधारण शेयर स्वामित्व परिवर्तन गरी संस्थापकको ५४.५२ प्रतिशत र सर्वसाधारणको ४५.४८ प्रतिशत कायम गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत १६ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*