निर्जीवन बीमा व्यवसायको कूल हिस्सामा मोटर बीमामा सबैभन्दा धेरै, बीमा व्यवसाय कुन क्षेत्रको कति ?

२८ चैत्र २०७९, मंगलवार ०५:०४

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको व्यवसायको मुख्य स्रोत मोटर बीमा देखिएको छ । चालु आर्थिक वर्षमा आर्थिक गतिविधि न्यून हुँदा बीमा कम्पनीहरु सरकारले अनिवार्य गरेको मोटर बीमामा बीमा कम्पनीहरुको निर्भर रहेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।

सरकारले अनिवार्य गरेको मोटर बीमा(तेस्रो पक्ष) मा जबरजस्ती बीमा गर्ने बाध्यकारी नियमले मात्रै निर्जिवन बीमाको व्यवसायमा राहत मिलेको देखिएको छ । तेस्रो पक्ष बीमा नभएसम्म सवारी साधन पास नै नहुने र लाईसेन्स नविकरण नहुने व्यवस्था रहेको छ ।

बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको फागुण मसान्तसम्म निर्जीबन बीमा व्यावसायमा मोटर बीमाको हिस्सा ३० प्रतिशत बढी छ । जसमा अधिकतम हिस्सा तेस्रो पाटीको नै रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनासम्ममा मोटर बीमालेखबाट ८ अर्ब ५२ करोड ६७ लाख ३५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । सरकारले मोटर बीमा अनिवार्य गरेको भएकोले सबैभन्दा बढी बीमाशुल्क यसबाट संकलन भएको हो ।

 

दोस्रोमा सम्पत्ति बीमा लेख रहेको छ । कम्पनीहरुले सम्पत्ति बीमालेखबाट कुल पाँच अर्ब ५२ करोड ६७ लाख ३५ हजार रुपैयाँ संकलन गरेका छन् । त्यस्तै, इन्जिनियर तथा ठेक्का बीमा लेखबाट चार अर्ब ४२ करोड, विविधबाट दुई अर्ब ८३ करोड बीमा शुल्क आर्जन भएका छन् ।

फागुन महिनासम्ममा कम्पनीहरुले कृषि तथा बालि बीमालेखबाट एक अर्ब ४६ करोड, हवाई बीमालेखबाट एक अर्ब ३६ करोड र सामुन्द्रिक बीमाबाट एक अर्ब २५ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

कम्पनीहरुले लघु बीमाबाट सबैभन्दा कम बीमा शुल्क संकलन गरेका छन् । कम्पनीहरुले लघुबीमा मार्फत जम्मा चार करोड ८५ लाख रुपैयाँ आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले यसै वर्षदेखि लाइसेन्स दिएको लघुबीमा क्षेत्रमा जम्मा चार करोड रुपैयाँको व्यवसाय भएको तथ्य उजागर भएसँगै नेपालमा लघुबीमा कम्पनीहरुको भविष्यमाथि प्रश्न चिन्ह उठेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*