गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत २२ गते) अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत २३ गते बुकक्लोज गर्दैछ ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले बैशाख ६ गते कम्पनी प्रधान कार्यालय श्रीराज भवन, तिनकुने काठमाडौंमा बिहान १०ः३० बजे १३ औं वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २३ करोड ९३ लाख ७० हजार रुपैयाँको १३.२७ प्रतिशतले हुन आउने २९ करोड ७१ लाख ९३ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै सभाले गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभ्ने।गाभिने सम्बन्धी प्रस्ताव समेत पारित गर्नेछ। तीन कम्पनीबीच एक आपसमा गाभिएपश्चात हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
चल।अचल सम्पती तथा दायित्व मूल्यांकन प्रतिवेदनको आधारमा तीन वटै कम्पनीको शेयर अनुपात १ः१ः१ कायम गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
तीन कम्पनी गाभिए पश्चात बन्ने नया कम्पनीको केन्द्रिय कार्यालय काठमाडौ महानगरपालिका वडा नं. १ मा रहेनेछ ।