जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन २८ प्रतिशतले घट्यो, गुराँस लाइफसहित ९ कम्पनीको नयाँ व्यवसाय ३० प्रतिशत बढीले खस्कियो (तथ्याङ्कसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले फागुन मसान्तसम्ममा १८ अर्ब ५५ करोड १६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार बीमा कम्पनीहरुको फर्स्ट प्रिमियम कलेक्सन गत वर्षको तुलनामा २८.३८ प्रतिशतले घट्न पुगेको हो ।
चालु आर्थिक वर्षको फागुन महिनासम्ममा जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले बीमा ब्यवसायमा प्रगति गर्न नसकेको तथ्याङ्कले देखाएको छ । गत वर्षको यसै अवधिसम्म कम्पनीहरुले २५ अर्ब ९० करोड २९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।
संचालनमा रहेको १८ वटै जीवन बीमा कम्पनीको बीमा ब्यवसाय खस्किएको तथ्याङ्कले देखाएको छ । गत वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी प्रथम बीमा शुल्क घट्ने कम्पनीमा गुराँस लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको यस अवधिसम्ममा फर्स्ट प्रिमियम कलेक्सन ५१.२७ प्रतिशतले घटेको छ ।
त्यस्तै, गत वर्षको तुलनामा यस वर्ष कम मात्रै फर्स्ट प्रिमियम कलेक्सन घट्ने कम्पनीमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । अन्य कम्पनीहरुको तुलनामा आइएमई लाइफले नयाँ बीमितहरु भित्र्याएको देखिएको छ । कम्पनीको यस अवधिसम्म ६.३२ प्रतिशतले मात्रै प्रथम बीमा शुल्क घटेको छ ।
त्यस्तै, एलआइसी नेपालको १४.१५ प्रतिशत, नेशनल लाइफको १८.४६ प्रतिशत, मेट लाइफको २०.४ प्रतिशत, रिलायन्स लाइफको २०.३५ प्रतिशत, नेपाल लाइफको २०.७५ प्रतिशत, सन नेपाल लाइफको २७.८६ प्रतिशत, सूर्यज्योति लाइफको २८.५७ प्रतिशतले घटेको छ ।
त्यस्तै, एशियन लाइफको २८.५७ प्रतिशत, सानिमा लाइफको ३१.४७ प्रतिशत, सिटिजन लाइफको ३७.२३ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ३५.५० प्रतिशत, महालक्ष्मी लाइफको ३९.८४ प्रतिशत, प्राइम लाइफको ३९.८४ प्रतिशत, प्रभु लाइफको ४०.८५ प्रतिशत, रिलायबल नेपाल लाइफको ४५.४८ प्रतिशत, युनियन लाइफको ४७.७४ प्रतिशतले घटेको छ ।