सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सिईओमा प्रस्तावितको तीन थरी नाम

नागरिकताभन्दा फरक नामबाट पाँच वर्ष भन्दा बढि समय सगरमाथा इन्स्योरेन्सको सिईओ, पुनः अर्को प्रस्ताव प्राधिकरणमा
१३ चैत्र २०७९, सोमबार १०:०१

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सिईओमा प्रस्तावित व्यक्तिको तीन थरी नाम भएको तथ्य खुलेको छ । बीमापोष्टलाई प्राप्त कागजातमा सगरमाथा इन्स्योरेन्स कम्पनीमा पाँच वर्षभन्दा बढि समयदेखि चंकी क्षेत्रीको नाममा सिईओ भई कार्यरत रहेका व्यक्तिको चंकी क्षेत्री, चुँकी क्षेत्री र चंखु क्षेत्री तीन थरी नाम प्रयोगमा रहेको तथ्य खुलेको हो । हेर्दा उस्तै लाग्ने यी नामहरूको हिज्जे भने पुरै फरक रुपमा प्रयोग गरिएको छ । 


लामो समयसम्म सर्वसाधारणलाई आफनो नामभन्दा फरक पारी जागिर खाँदै आएका व्यक्ति अहिले पुनः सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा सिईओ पदमा नियुक्तीको लागि अनुमति माग्न फाइल बीमाप प्राधिकरणमा पेश गरिएको छ । आफूलाई चंकी क्षेत्री भनेर चिनाउने गरेकोमा सगरमाथा इन्स्योरेन्स कम्पनीको सिइओको रुपमा वेभसाइटमा भने Chunky Chhetry भनेर उल्लेख गरेका छन् । जसको नेपाली सोझो अर्थ रोमनमा चुँकी क्षेत्री हुन आउँछ ।

 

 


बाहिर परिचय गराउने नाम चंकी क्षेत्री हो । हाल मर्जरमा गएको सगरमाथा इन्स्योरेन्स कम्पनीको वेभसाइटमा चुँकी क्षेत्री राखिएको छ । तर, तिनै व्यक्तिको नागरिकतामा भने चंखु क्षेत्री रहेको तथ्य फेला परेको छ । उनै चंकी क्षेत्रीको सरकारी रेकर्ड, नागरिकतामा भने नाम चंखु क्षेत्री र ठेगाना गण्डकी अञ्चल तनहुँ जिल्ला सतिश्वरा गाउँपञ्चायत वडा नं १ ठेगाना उल्लेख रहेको छ । नागरिकता नं १०४५ रहेको चंखु क्षेत्रीले सोही नामबाट पासपोर्ट समेत लिएका छन् । सो ठेगाना हाल तनहु जिल्लाको भानु गाउँपालिका वडा नं ६ मा पर्दछ । 


सगरमाथा इन्स्योरेन्स कम्पनीका सिईओ हुँदा देखि नै तीन थरी नाम राखिएको थियो । चंखु क्षेत्री असली नाम भएका व्यक्ति अहिले पुनः मर्जरपछि गत फागुन २९ गतेदेखि नयाँ बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सिईओमा नियुक्त गर्न सञ्चालक समितिले प्रस्ताव गरेको छ । यसअघि २०७७ सालमा सिईओमा नियुक्त हुँदा नेप्सेले लेखेको एउटै पत्रमा माथि चंकी क्षेत्री र तल चंखु क्षेत्री भनेर उल्लेख गरिएको तथ्य भेटिएको छ । 


हाल तीन थरी नाम भएका व्यक्ति सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा सिईओ बन्ने प्रस्ताव बीमा प्राधिकरणमा पुगेको छ । सो सम्बन्धी फाइल गत साताको सोमबार नियामक निकाय नेपाल बीमा प्राधिकरणमा दर्ता भएको छ । तर, स्वीकृत भने पाउन बाँकी छ । 


एउटा कम्पनी, एउटा सिईओको पद तर तीन थरी नाम कुनचाही असली कायम भएर आउला त्यो प्रतीक्षाको विषय बनेको छ । 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*