ग्लोबल मनी विक २०२३ आजदेखि सुरु, वित्तीय साक्षरता अभिबृद्धि भई स्वरोजगार सिर्जना हुने अपेक्षा
काठमाडौं । ‘प्लान युवर मनि प्लान्ट युवर फ्युचर’ भन्ने नाराका साथ ग्लोबल मनी विक २०२३’ आजदेखि सुरु भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो एघारौं संस्करण हो ।उक्त अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले विभिन्न कलेजका सयभन्वा सयभन्दा बढी विद्यार्थीको सहभागितामा ललितपुरमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गर्यो । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडसंगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो । गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्यक्रमको उद्घाटन गरे ।
सो अवसरमा गभर्नर अधिकारीले नेपालमा वचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्ति वढी रहेको धारणा राखे । उनले भने, “राष्ट्रिय आयसंग वाजेर हेर्ने हो भने हाम्रो वचतको प्रवृत्ति कमजोर छ त्यसैले हामीले वचत गर्ने बानीको विकास गर्नुपर्छ । बचतले नै लगानी र आम्दानीको बाटो देखाउने हो ।“ युवा विद्यार्थीमाझ वित्तीय जागरण र वित्तीय चेतना अभिवृद्धिका लागि ग्लोबल मनी विकको अभियान महत्वपूर्ण अवसर रहेको उनको भनाई थियो । बैंकिङ, पुँजी बजार, बीमा जस्ता वित्तीय क्षेत्रबारे जानकारी लिन र आफूले सिकेका ज्ञान सीपलाई आफ्ना समाज र परिवारमा समेत प्रवाह गर्न गभर्नर अधिकारीले विद्यार्थीहरूलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, डेपुटी गभर्नरद्वय डा. नीलम दुझना तिम्सिना र बमबहादुर मिश्रसँगै राष्ट्र बैंक र वित्तीय क्षेत्रका अन्य नियामक निकायका उच्च अधिकारीहरूको उपस्थिति थियो । कार्यक्रममा गभर्नरको कार्यालयका का.मु कार्यकारी निर्देशक किरण पण्डितले स्वागत मन्तव्य राख्ने ग्लोबल मनी बिकको सान्दर्भिकता र औचित्यवारे प्रकाश पारेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण र सहकारी विभागका तर्फबाट वित्तीय चेतना प्रवर्द्धनलाई समेटिएका चार वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । चैत १२ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल किड इन्स्टिच्युट लिमिटेड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमार्फत अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामुलक कार्यक्रम आयोजना हुनेछन् । साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछन् ।
यस अभियानअन्तर्गत बैंकिङ।वित्तीय पुँजी बजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन्, जसअन्तर्गत वित्तीय सचेतनामूलक अन्तरक्रिया, र्याली र विद्यार्थीमाझ चेतनामूलक प्रतियोगिता संचालन हुनेछन् भने संचार माध्यम तथा सामाजिक संजालबाट चेतनामूलक कार्यक्रम, श्रव्यदृश्य सामाग्री र अन्तर्वार्ताहरु प्रसारण गरिनेछन् ।
यस्तै, युवा विद्यार्थीहरुलाई वित्तीय सेवाप्रदायक संस्थाको अवलोकन गराउने कार्यक्रसमेत तय गरिएको छ । उक्त अभियानबाट युवा विद्यार्थीहरुमा वित्तीय साक्षरताको प्रबर्द्धन र वित्तीय पहुँच विस्तारसँगै स्वरोजगार सिर्जना र उद्यमशीलताको विकास, उत्पादन तथा आयस्तर अभिबृद्धि भई मुलुकको समृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
‘ग्लोबल मनि विक’ मुलतः किशोर।किशोरी तथा युवा वर्गामा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रुपमा थालिएको अभियान हो ।