कालिगढबाट सफल उद्यमीको यात्रामा अञ्जुको साहारा बन्यो नेष्डो समृद्ध लघुवित्त
काठमाडौं । पछिल्लो समय लघुवित्तहरु ज्यादतीका कारण बढी चर्चामा छन् । ऋणीहरुले लघुवित्तले ज्यादती गरेको भन्दै आफूहरुले ऋण तिर्न नसक्ने र नतिर्ने भन्दै संघर्ष गरिरहेका छन् ।
महिला सशक्तीकरण र गरिबी निवारणको उद्देश्यले खुलेका लघुवित्तहरुको सिद्धान्त अथवा उद्देश्य यतिवेला संकटमा परेको छ ।
लघुवित्तले उकासेको होइन, जमिनमुनि पुगिने गरी उठ्नै नसकिने बनाएको आरोप ऋणीको छ । ऋण जति तिरे पनि नसकिने बनाएर लघुवित्तले शोषण गरेको र कतिपयले त लघुवित्तको कर्मचारीको ज्यादती सहन नसकेर आत्महत्या गरेको भन्दै आरेप लगाएर कर्मचारी माथि अभद्र व्यवहार र संस्था तोडफोडमा समेत लागेका छन् ।
सानो सानो पूँजी सङ्कलन गरेर शुरु गरेका व्यवसायीले मनग्य आम्दानी गर्न सफल भएका थुप्रै उदाहरण छन् । लघुवित्त संस्थाले व्यवसाय सञ्चालनका लागि ऋण प्रदान गर्नाका साथै आवश्यक तालीम पनि दिने गरेकाले मनग्य आम्दानी गर्न सकिएको ग्रामीण महिलाहरुको जीवनशैली नै परिर्वतन भएको छ।
जताततै चर्को आलोचनापश्चात् नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको इजाजतपत्र प्राप्त संस्थाहरुलाई एकीकृत निर्देशन जारी गरी लघुवित्त संस्थाहरुलाई निक्षेप तथा कर्जाको ब्याजदर समेत घटाउन दबाद दिईसकेको छ ।
लघुवित्त संस्थाहरुले चर्को ब्याजदर असुलेको र जर्बजस्ती किस्ता तिर्न लगाउने खालका आरोपहरु ऋणीहरुले लगाउँदै आइरहेका छन् । निक्षेपकर्ताले संस्थाहरुबाट लिएको कर्जाको सहि सदुपयोग अर्थात सहि लगानी गर्न नजान्दा साँवा समेत तिर्न नसक्ने अवस्था रहेका छन्।
यसैबीच लघुवित्त संस्थाहरुप्रति नकारात्मक धारणा फैलिदै गइरहेकोमा संस्थाहरुबाट प्रवाह हुने कर्जाको सहि सदुपयोग र उचित क्षेत्रमा लगानी कसरी गर्ने भन्ने बुलन्द उदाहरणको पात्र बनेकी छिन् पोखराकी अन्जु बिक ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाबाट सुरुवातमा २० हजार रुपैयाँ कर्जा लिएर ब्यवसाय सुरु गरेकी अन्जुले ब्यवसायमा उत्कृष्ट प्रगति गर्दै अहिले १ करोड ६० लाख रुपैयाँको घर समेत बनाइसकेकी छिन्।
वि.सं. २०६३ सालमा नेष्डो समृद्ध लघुवित्त पोखरा शाखा अन्तर्गत पोखरा २ मोहोरियाटोल स्थित आविष्कार महिला ब्यवसायिक केन्द्र, केन्द्र नं ५१ मा आबद्ध भएकी अन्जुले सस्थाबाट सुरुमा ब्याबसायिक कर्जा अन्तर्गत २० हजार रुपैयाँ कर्जा लिई पसलमा सुन बनाउने औजारहरु खरिद गरिन् ।
त्यति बेलाको अपठ्यारो परिवेशमा “नेष्डो नेष्डो समृद्ध लघुवित्त मेरो सहाराको सारथी बनेर आई पुग्यो” अन्जु भन्छिन् । सो पश्चात अन्जुले नेष्डो समृद्ध लघुवित्तबाट कर्जा तथा बचतको कारोवार निरन्तर गरिन् । यसरी लघुवित्तबाट क्रमशः बार्षिक रुपमा २० हजार गर्दै ३ लाख रुपैयाँसम्म कर्जाको आकारसंगै ब्याबसाय समेत बढाउँदै गइन् ।
उनी आफु मात्रैले नभै समुहमा रहेका अन्य दिदी सदस्यहरुलाई पनि ब्यवसायिक बन्नुपर्छ भन्दै सिकाउछिन् । समूहमा रहेका सबै दिदिबहिनीहलाई अन्जु उत्प्रेरित गर्दै केन्द्रलाई समेत राम्रो बनाउन सफल भईन् । अहिले अन्जुसमेत रहेको केन्द्र नं. ५१ तारिफयोग्य केन्द्र नम्बर बन्न सफल भएको छ । १२ वर्षसम्म भाडामा बस्दै आएको घरलाई समेत यतिबेला अन्जुले आफ्नो नाममा बनाउन सफल समेत भइसकेकी छिन् ।
‘नेष्डो समृद्ध लघुवित्तको उत्प्रेरणा तथा निरन्तर कर्जा तथा बचतको कारोवार र कडा मेहनेतले गर्दा आज भाडामा बस्दै आएको घरलाई समेत आफ्नो नाममा बनाउन सफल भइसकेको छु’ उनी बताउँछिन् ।
२०७२ सालमा आफु बहालमा बस्दै आइरहेको घरलाई एक करोड ६० लाखमा आफ्नो नाममा खरिद गरेको अन्जु बताउँछिन् । हालसम्म १५औ पटकको कर्जा स्वरुप यस बर्ष पनि उनले ५ लाख रुपैयाँ कर्जा लिई श्रीमान तथा १ छोरा समेत संलग्न भै सुन पसल तथा सुन गहना बनाउने कारखाना संचालन गरेकी छिन् ।
‘नेष्डो समृद्ध लघुवित्तबाट लिएको कर्जाबाट अत्यन्त राम्रो ब्याबसाय गर्न सफल भएकी छु’ अन्जु भन्छिन्, ‘कारखानामा १९ जना कर्मचारीहरुलाई समेत रोजगारीको अवसर दिएकी छु’ । हालसम्म अन्जुको नाममा ७००२२ बचत संकलन रहेको छ भने १५ बर्ष पुरा गरी पेन्सन बचत डबल रकम ७२००० पनि लिई सकेकी छिन् ।
निकट भबिष्यमा आफुले गर्दै गरेको ब्यबसायलाई अझै बृद्धि गर्दै करिब १०० जना कामदारहरुलाई रोजगारी दिने किसिमको ब्याबसाय संचालन गर्ने उनको लक्ष्य रहेको छ । नेष्डो समृद्ध लघुबित्त बित्तिय संस्थाामा पनि निरन्तर कर्जा तथा बचतको कारोवार गर्दै जाने उनी बताउँछिन् ।
कालिगढदेखि लघुवित्तसम्मको यात्रा
वि.स.२०३२ सालमा लमजुङ जिल्लाको भोटेडार गा.वि.स. वडा नं १ निबासी बाबा पुर्ण बहादुर बिक र आमा कृष्णकुमारी बि.क.को कोखबाट माहिली छोरीको रुपमा जन्मेकी अन्जुले आफ्नो पारिवारिक आर्थिक अवस्थाको कमजोरीका कारण कक्षा १० को अध्ययन पश्चात अध्ययनलाई पुर्ण बिराम लगाउँदै १६ बर्षको उमेरमा चितवन जिल्ला जगतपुर गा.बि.स. वडा नं ५ निवासी डम्मर बहादुर बि.क. संग २०४८ सालमा सास्कृतिक परम्परागत रुपमा बिबाह भएपश्चात उनको जीवन संघर्षका दिनहरु सुरु भयो ।
अन्जुको माइती घरमा जस्तै कर्म घरमा पनि आर्थिक अबस्था कमजोरी नै थियो । उनको ससुरा पर्सलाल बि.क.भारतीय पुलिसमा क्याम भित्र सुनचाँदीको काम गर्दे घर परिवार चलाँदै आएका थिए । पारिवारिक जिम्वेवारी थपिदै गएपछि अन्जु र उनको श्रीमान् कामकोे खोजीमा कहिले नारायणगढ, कहिले मुग्लिन आँबुखैरेनी हुदै वि.सं.२०५५ सालमा पोखरा पुगे ।
सो पश्चात पोखराको एक सुन पसलमा दुबै जना कालीगढको रुपमा काम गर्न सुरु गरेको अन्जु बताउँछिन् । दुबै जनाले काम गर्दा मासिक १२ हजार रुपैयाँ ज्याला पाउथे । ‘मासिक तलब १२ हजार रुपैयाँबाट कोठा भाडा, खाना खर्च तथा दुई सन्तानको लालनपालन शिक्षा दिक्षा गर्न साह्रै धौ धौ हुन्थयो । उनी भन्छिन्, “कहिलेकाही छोराहरु बिरामी हुँदा औषधी गर्ने पैसा नहुँदा सारै नै धिक्कार लाग्दथ्यो ।’
अन्जु र उनको श्रीमान मासिक १२ हजार रुपैयाँका दरमा काम गर्दै ४ बर्षसम्म अरुको पसलमा ज्याला मजदुरी गर्दै बिताए । २ जनाले अझै बढी सघर्ष ओभर टाईम गर्दै घर खर्च टारेर पनि सानो–सानो रकम जम्मा गर्दै २०६० सालमा पोखरा महागरपालिका वडा नं २ मोहोरिया टोलमा घर भाडामा लिई ब्यबसाय सुरु गर्ने बिचार गरे ।
ब्यबसाय सुरु गरेपनि पैसाको अभाबमा सामान राख्न तथा घरभाडा तिर्न अत्यन्त गाह्रो भएको अन्जु बताउँछिन् । ‘घरबेटीलाई समयमा भाडा बुझाउन नसक्दा सहनु परेका बचन बाणीहरु अझै सम्म भुलेकै छैन भने अर्कोतिर पसलमा सामान राख्न नसक्दा आएका ग्राहक पनि फर्कदा मनमा साह्रै खिन्नता हुन्थ्यो” उनी भन्छिन् ।
यसरी समस्या र दुःखका जीबनयापन गर्दै जाँदा छर छिमेकका दिदीबैनीहरुमार्फत नेष्डो समृद्ध लघुवित्तको लघुबित्त कार्यक्रमको बारेमा जानकारी पाएपछि २०६३ सालमा पोखरा शाखा अन्तर्गत पोखरा २ मोहोरियाटोल स्थित आबिश्कार महिला व्यवसायिक केन्द्र नं ५१ मा आबद्ध भइन् । नेष्डो समृद्ध लघुवित्तमा जोडिएपछि उनको जीवनशैली नै परिवर्तन भएको अन्जु बताउँछिन् ।
अहिले अन्जुका २ छोराहरु छन् । १ छोरा र बुहारी युकेमा रहेका छन् भने १ छोरा स्नातक तहमा अध्ययनरत छन् । हाल उनले महिला उधमशिल क्षेत्रमा पनि काम समेत गरेकी छिन् ।