बैंकिङ सेवा बन्द गराउन सिबिफिनलाई धम्की, शान्ति सुरक्षाको व्यवस्था मिलाउन सुरक्षा निकायलाई अपिल
काठमाडौं । बैंकिङ सेवा बन्द गराउन सिबिफिनलाई धम्की सहित कार्यालय तथा कर्मचारीहरुमाथि गरिएको जबरजस्तीप्रति आपत्ति जनाएको छ ।बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाहरुका कार्यालय तथा कर्मचारीहरुमाथि गरिएको जबरजस्तीप्रति आपत्ति जनाएको छ ।
यस्ता गतिविपिध रोक्न परिसंघले शान्ति सुरक्षाको व्यवस्था मिलाउन समेत नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहितलाई आग्रह समेत गरेको छ ।
फागुण ३० गते मकवानपुर जिल्ला, हेटौडास्थित कुमारी बैंकको शाखा कार्यालय लगायतमा बैंकिङ सेवा अवरुद्ध गर्ने, अत्यावश्यक बैंकिङ सेवा लिइरहेका सेवाग्राहीलाई सेवा लिनबाट वञ्चित गर्ने, धरपकड गर्ने र कार्यालय नै बन्द गर्न पत्र संप्रेषणसहित धम्की दिने जस्ता अत्यन्तै नियोजित गतिविधिहरुप्रति बैंक तथा सिबिफिनले गहिरो खेद प्रकट गरेको हो।
सुरक्षा निकाय, अस्पताल, बैंक तथा वित्तीय संस्था, एम्बुलेन्स, खानेपानी, फोहोर व्यवस्थापनलगायतका क्षेत्रलाई अत्यावश्यक सेवाका क्षेत्रकोरुपमा परिभाषित गरी यस्ता क्षेत्रहरुमा कुनै पनि किसिमका बन्द तथा हड्ताल जस्ता कार्यहरु गर्न नहुने÷नपाइने गरी नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरिसकेको सन्दर्भमा सोको उल्लघंन भएको सिबिफिनले जनाएको छ ।
जस्तोसुकै समस्याहरुको समुचित समाधानका उपायहरु वार्ता तथा संवादको माध्यमबाट पहिल्यान सकिने मान्यता बमोजिम बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा गरिने यस्ता धर्ना, धरपकड र कार्यालय नै बन्द गर्ने कार्यहरु तत्काल रोकी वार्ता तथा संवादको प्रक्रियामार्फत समस्या समाधानको लागि तत्काल आवश्यक पहलकदमी लिन नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित व्यावसायिक संस्थाहरुलाई सिबिफिनले आग्रह गरेको छ।