प्राइस कटिङ र उधारो बीमा मौलाउँदै, प्रुडेन्सियल र नेपाल इन्स्योरेन्सलाई कारवाही
काठमाडौं । निर्जीवन बीमा क्षेत्रमा प्राइस कटिङ र उधारो बीमा गर्ने पुरानो प्रचलन पुनः दोहोरिन थालेपछि बीमा प्राधिकरणले एक्सन लिएको छ । सुरुवातमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीलाई दुई दुई लाख रुपैयाँ जरिवना गर्ने निर्णय गरेको हो । बजारमा प्राइस कटिङ (दररेट भन्दा कममा बीमा गर्ने कार्य) र उधारो बीमा रोक्न बीमा प्राधिकरणले पटक पटक कडा निर्देशन दिँदै आएको छ ।
पटक पटक बीमा प्राधिकरणको निर्देशन अटेर गरेपछि नेपाल बीमा प्राधिकरणले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीलाई कारवाही गरेको छ । पहिलो चरणमा दुई बीमा कम्पनीलाई कारवाही गरेपनि अन्य ठूला बीमा कम्पनीहरुमा समेत यस्तो बिचलन देखिएकोले थप कम्पनीहरुलाई समेत कारवाही हुन सक्ने प्राधिकरण स्रोतले जनाएको छ ।
प्राधिकरणले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले उधारो बीमा गराएको फेला परेपछि कारवाही गरेको जनाएको छ । केही समयअघि गरिएको स्थलगत अनुगमनको क्रममा दुई बीमा कम्पनीहरुले उधारो बीमा गरेको तथा प्राइस कटिङ गरेको फेला परेको थियो ।
आइएमई जनरल इन्स्योरेन्ससँग मर्जरमा जान लागेको प्रुडेन्सियललाई बीमा प्राधिकरणले गरेको कारवाहीमा प्रतिशोध रहेको कम्पनीका उच्च अधिकारीहरू बताउँछन् । बीमा प्राधिकरणले नेपाल, प्रुडेन्सियल र आईजिआईलाई मर्जरमा जान दवाव दिएको थियो । तर, नेपाल इन्स्योरेन्सले मर्जरमा जान धेरै ठूलो शर्त राखेपछि तीन वटाको मर्जर सफल भएको थिएन ।
बीमा बजारमा उधारो बीमा गर्ने र प्राइस कटिङ गर्ने कम्पनीहरुको सूचिमा पहिलो नम्बरमा अजोड इन्स्योरेन्स पर्ने भएपनि हालसम्म कारवाही गरेको छैन ।