बैंक तथा वित्तिय संस्थाहरुले घटाए निक्षेपको ब्याजदर, कुनले कति ?
काठमाडौं । चैत महिनादेखि लागु हुने गरि वणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले मंगलबार चैत महिनाको लागि ब्याजदर सार्वजनिक गर्दै ब्याजदर घटाएका हुन् ।
वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर स्थिर राखी साधारण बचत तथा कल निक्षेपको ब्याजदर घटाएका छन् । उनीहरुले साधारण बचतको ब्याजदर ०।४२ प्रतिशत ले घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । वाणिज्य बैंकहरुले साधारण बचतमा न्यूनतम ६ प्रतिशत देखि अधिकतम ८ प्रतिशत सम्म ब्याज दिने छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको निर्णयअनुसार उनीहरुले ब्याजदर घटाएका हुन् ।
विकास बैंकहरुले भने मुद्दती निक्षेपमा पनि ब्याजदर घटाएका छन् । एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११।६० प्रतिशत कायम गरेका छन् । त्यस्तै, एक वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर ११।५० प्रतिशत कायम भएको छ । हाल विकास बैंकहरुले एकवर्षे वा सोभन्दा माथि र कम दुवैको व्यक्तिगत मुद्दति निक्षेपमा ११।७५ प्रतिशत ब्याजदर दिंदै आएका थिए । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको सोमबार बसेको बैठकले ब्याजदर घटाउने निर्णय गरेको छ ।
यता, फाइनान्स कम्पनीहरुले पनि मुद्दती निक्षेपको ब्याजदर घटाएको सूचना सार्वजनिक गरेका छन् । एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०।२० प्रतिशत ले र एक वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर ०।१५ प्रतिशत ले घटाएका छन् । हालसम्म अधिकतममा १२।२० प्रतिशत ब्याज दिँदै आएका अधिकांश फाइनान्सहरुले अब १२ प्रतिशत ब्याज दिने भएका छन् ।