कृषि विकास बैंकमा ८० करोड घोटाला, पूर्व सिईओ अनिल उपाध्यायमाथि छानविनमा ढिलाई
काठमाडौं । कृषि विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल उपाध्यायले जथाभावी प्रवाह गरेको ऋणको कारण बैंकको अवस्था दयनीय बनेको छ । आफैले हस्ताक्षर गरेर केटिएम सिटी नामक एक कम्पनीलाई दिएको ऋण शंकाको घेरामा परेको छ । उपाध्याय कृषि विकास बैंक छोडेर हाल सोही केटिएम सिटी नामक कम्पनीमा मासिक लाखौं तलव पाउने गरी सिईओ बन्न गएका छन् ।
सरकारी लगानीको कृषि विकास बैंकमा तत्कालिन सिईओ उपाध्यायको पालामा अर्बौ रुपैयाँ घोटाला भएकोले बैंक टाट उल्टिने अवस्थामा पुग्न लागेको बैंक स्रोतले जनाएका छ । गत वर्ष १०३ प्रतिशतसम्म सिडी रेसियो पुगेको कृषि विकास बैंकको पछिल्लो अवस्था दयनीय बन्दै गइरहेको छ । बैंकभित्र चरम घोटाला गरेर दोस्रो कार्यकालको लागि पुनः सिईओ बन्न लागेको उपाध्यायसँग तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले पाँच करोड रुपैयाँ घुस मागेका थिए । उक्त घुस दिने रकम मिलाउँदा मिलाउँदै उनको पद खुस्किएको थियो ।
हाल उनै आफै सिईओ रहेको केटिएम सिटीलाई उपाध्यायले ८० करोड रुपैयाँ ऋण दिलाएका थिए । आफैले ऋण दिएको कम्पनीमा सिईओ बन्न गएपछि नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयमा यस विषयमा छलफल भएपनि छानविन गर्न औपचारिक रुपमा टोली खटाइएको छैन । केही समयअघि कृषि विकास बैंकका कर्मचारीहरुले लिखित पत्र सहित अर्थमन्त्रालयमा छानविनको माग गरेका थिए । राष्ट्र बैंकमा समेत यस बिषयमा छानविनको माग गएिको थियो । बैंकको अवस्था दिनप्रतिदिन खराव हुँदै गएपछि यसअघि भएका भ्रष्टाचारहरुको सम्बन्धमा छानविनको लागि कर्मचारी स्वयम्ले घच्घचाउन थालेपछि यती बेला अर्थमन्त्रालय र राष्ट्र बैंकले छानविनका लागि तातेका छन् । तर औपचारिक निर्णय भने भइसकेको छैन ।
राष्ट्र बैंकले ऋण प्रवाहको विषयमा छानविन गर्ने तयारी गरे पनि निर्णय भने भइसकेको छैन भने अर्थ मन्त्रालयले पछिल्लो चार वर्षमा कृषि विकास बैंकलाई खराब सूचकका पुग्ने कारणहरु खोज्दै छानविन गर्ने विषयमा छलफल भएको छ । सो कुरा चाल पाएपछि पूर्व सिईओ उपाध्याय राजनीतिक सेटिङ मिलाएर छानविनबाट बच्न खोजिरहेका छन् ।
उपाध्यायले सिईओ हुँदा कमजोर वित्तीय अवस्थाबाट गुज्रिरहेको शेर्पा आउटडुअर्स (केटीएम सिटि)लाई ठूलो ऋण प्रवाह गरेर पछि सोही कम्पनीको सिईओ नियुक्त भएको विषयले उनको नैतिकतामाथि समेत शंकाको दृष्टिले हेरिएको छ ।केटिएम सिटी नामक कम्पनीको सिईओ भएपश्चात् विवादमा तानिएपछि उनले पुन राजिनामा दिईसकेका छन् । उनले उक्त कम्पनीमा नियुक्त भएको सिईओ विवरण पुन रुपमा डिलेट समेत गर्न लगाएका छन् । हाल उनको कुनै विवरण वेवसाईटमा राखिएको छैन । तर केटिएम सिटीले उपाध्यायलाई सिईओको रुपमा स्वागत गरेर तस्विर समेत राखेको थियो ।
शेर्पा आउटडुअर्सको रेटिङ गरेको इक्रा रेटिङले अधिक जोखिम देखाए पनि बैंकका तत्कालीन सीईओ उपाध्यायको दवावमा ८० करोड रूपैयाँ ऋण दिइएका थिए ।पछिल्ला चार वर्षमा खुद मुनाफा एक प्रतिशतमात्रै रहेको कम्पनीलाई तीनवटा शीर्षकमा ७९ करोड ३० लाख रूपैयाँ ऋण प्रवाह गरिएको बैंक स्रोतको भनाई छ । शेर्पा आउटडुअसलाई कृषि विकास बैंकको ठमेल शाखाबाट ऋण प्रवाह भएको हो ।
२०७५ पुसमा बैंकको सीईओ नियुक्त भएका उपाध्याय दुई महिनाअघि बैंकबाट बहिरिएका थिए । यसअघि कृषि विकास बैंकमा ३० वर्ष काम गरेका उनी उपमहाप्रबन्धक भएका थिए । शेर्पा आउटडुअरका सञ्चालक निमा शेर्पाले ६ जनवरी १९९४ मा दर्ता गरेको यो कम्पनीले काठमाडौं उपत्यका र बाहिर आफ्नो बिक्री केन्द्र खोलेर गार्मेन्टजन्य उत्पादन बिक्री गर्दै आएको छ । यसले भारत तथा क्यानडामा समेत आउटलेट खोलेर तयारी पोशाकको विक्रि गर्दै आएको छ ।