शोधानान्तर स्थिति एक खर्ब ३३ अर्ब बचतमा, चालु खाता कति ?
२८ फाल्गुन २०७९, आईतवार १२:४९
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९।८० को सात महिनाको आर्थिक अवस्थाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार शोधानान्तर स्थिति एक खर्ब ३३ अर्ब २१ करोड रुपैयाँ बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सात महिनासम्ममा शोधानान्तर स्थिति एक खर्ब ३३ अर्बमाथि बचतमा रहेको हो । अघिल्लो वर्षको सोही अवधिसम्ममा शोधानान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोड रुपैयाँले घाटामा रहेको थियो । देशको वर्तमान आर्थिक अवस्थामा सुधार हुँदै गएसँगै शोधानान्तर स्थिति बचतमा गएको हो ।
त्यस्तै, समीक्षा अवधिमा यता चालु खाता २९ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४ खर्ब ११ अर्ब ३४ करोड रुपंैयाँले घाटामा रहेको थियो ।