सगरमाथा र लुम्बिनी जनरलले फागुन २९ गतेबाट एकीकृत कारोबार गर्ने, प्राधिकरणसहितका निकायबाट अन्तिम स्वीकृति
काठमाडौं । यही फागुन २९ गते नेपाली बीमा कम्पनीहरुको मर्जरमा नयाँ अध्याय थप हुने भएको छ । मर्जर प्रकृयामा रहेका सगरमाथा इन्स्यारेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार फागुन २९ गतेदेखि गर्ने निर्णय गरिएको छ ।
संयुक्त मर्जर कमिटिले दुई कम्पनी एकीकृत कारोबार फागुन २९ गतेबाट गर्ने निर्णय गरेको हो । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका अनुसार एकीकृत कारोबारको लागि सबै तयारी अन्तिम चरणमा पुगिसकेको छ । अन्तिम सम्झौता स्वीकृत भई बीमा प्राधिकरण, सेबोन र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमति पाइसकेको छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी १००ः८० स्वाप रेसियोमा मर्जरमा जाने निर्णय गरेका हुन् । हाल प्रस्तावित बोनस सेयर वितरण पश्चात स्वाप रेसियो समायोजनसँगै नयाँ बन्ने सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्प्नीको कूल चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ ।
नयाँ कम्पनीको सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट मनोहर दास मूल र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री नै हुनेछन् ।
बीमा प्राधिकरणले एक वर्षअघिदेखि सुरु गरेको मर्जर अभियान अन्तर्गत चौथो एकीकृत कारोबार हो । यसअघि एभरेष्ट–हिमालयन जनरल, सानिमा–जनरल र सिद्धार्थ–प्रिमियर इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरिसकेका छन् ।