५० अंकले बढ्यो नेप्से, सबै उपसूचकमाा छायो हरियाली, हाइड्रोपावर इन्डेक्स सर्वाधिक बृद्धि
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार उच्च अंकले बढ्न पुगेको छ । केही समययता निरन्तर ओरालो लागेको नेप्से सूचक आज ५० अंकले बढेर २००२ को विन्दुमा कायम हुन पुगेको छ ।
केही महिनायता बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर विरुद्ध व्यवसायीहरु आन्दोलनरत हुँदा शेयरबजार समेत प्रभावित बनेको थियो । बैंकहरुले चर्को ब्याजदर लिने र स्प्रेड दर नघटाउँदा शेयरबजार ओरालो लागेको थियो ।
तर चर्को विरोधपछि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाउने निर्णय गरेसँगै शेयबजारमा एकाएक सुधार देखिएको छ । निरन्तर घटेको नेप्से इन्डेक्स उचालिन थालेको छ । आज नेप्से सूचक ५०.०४ अंक अर्थात २.५६ प्रतिशतले बढ्न पुगेको छ ।
नेप्सेमा सूचीकृत २६२ कम्पनीको ४५ लाख ६६ हजार ४३ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । साथै नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक हाइड्रोपावर उपसूचकको ३.५९ प्रतिशत र फाइनान्स उपसूचक ३.४६ प्रतिशतले बढेको छ ।