इङ्वा हाइड्रोपावरको आईपीओ आवेदन दिन मिल्ने आयोजना प्रभावित क्षेत्र परिवर्तन

२४ फाल्गुन २०७९, बुधबार ११:२०

काठमाण्डौ । इङवा हाइड्रोपावर लिमिटेडले आईपीओमा आवेदन दिन पाउने आयोजना प्रभावित क्षेत्र परिवर्तन गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै आईपीओ भर्न पाउने आयोजना प्रभावित क्षेत्र परिवर्तन गरेको हो ।

सूचनामा उल्लेख भएअनुसार अब पाँचथर जिल्लाको याङ्वरक गापा–२ (साविक फलैचा गाविस वडा नं. १ देखि ९) र याङवरक गापा–३ (साविक ओयाम गाविस वडा नं. १ देखि ९) र ताप्लेजुङ जिल्लाको सिदिङ्गवा गापा–३ (साविक आङखोप गाविस वडा नं. १ देखि ९)का बासिन्दा आईपीओमा आवेदन दिन पाउने छन् ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिदिङ्गवा गापा–३ (साविक आङखोपा गाविस वडा नं. ३, ६, ८ र ९) तथा पाँचथर जिल्लाको यङवरक गापा–२ (साविक फलैचा गाविस वडा नंं.१) र यङवरक गापा–३ (साविक ओयाम गाविस वडा नं.२) स्थानीय बासिन्दाले मात्र आईपीओ आवेदन दिन पाउने भनी सूचना निकालेको थियो ।

संशोधन सूचनाबारे नेपाल धितोपत्र बोर्डमा पनि जानकारी गराइसकेको कम्पनीले जनाएको छ । कम्पनीले गत फागुन २१ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ६० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६ करोड रुपैयाँबराबरको सेयर जारी गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख कित्ता सेयर बिक्री गर्नेछ ।

यसैगरी सर्वसाधारणका लागि निष्कासन हुने १२ लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख २० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् ।

स्थानीय र वैदेशमा रहेका श्रमिकले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ दुवै समूहले चैत ५ गतेसम्म आवेदन दिन सक्नेछन्। स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द भने ढिलोमा चैत २० गते हुनेछ।

स्थानीयले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका तोकेको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यो आईपीओको बिक्री प्रबन्धकमा नेपाल एसबिआई क्यापिटल रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*