मर्जर सम्झौता गरेका आईजिआई र प्रुडेन्सियललाई धितोपत्र बोर्डको प्रारम्भिक सहमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जरमा जाने प्रारम्भिक सहमति गरेका आईजिआई र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई सहमति प्रदान गरेको छ । बीमा प्राधिकरणको दवावमा मर्जरमा जान लागेका दुई कम्पनीको मर्जर प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।
बीमा प्राधिकरणले निर्धारण गरिदिएको स्वाप रेसियो १ः१ मा मर्जर जाने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको छ । अब डिडिए गरेर सम्पत्ति तथा दायित्व निर्धारण गरी आपसीमा गाभिनेछन् ।
यद्यपि कम्पनीको नामको विषयमा सहमति हुन बाँकी नै छ । बीमा प्राधिकरणभित्र यही माघ २७ गते दुई कम्पनीका बीचमा जबरजस्ती मर्जर सहमति भएको थियो । चैत्र मसान्तभित्र चुक्ता पुँजि पुर्याउनुपर्ने र मुख्य लगानीकर्ता चन्द्र ढकाल समुहले पैसा हाल्न नसक्ने भएपछि प्राधिकरणको पहलमा मर्जर सम्झौता भएको थियो ।