भोलिको विशाल विरोध सभाको पूर्वसन्ध्यामा सानिमा बैंकले घटायो ब्याजदर, बैंकर्स संघको अडान कायमै
काठमाडौं । गैर आवासिय नेपालीहरु मुख्य संस्थापक रहेको सानिमा बैंकले ऋणीलाई ब्याजदरको चर्को भार परेको भन्दै ब्याजदरमा सहुलियत दिने निर्णय गरेको छ । बैंकले प्रिमियम घटाएर ब्याजदरमा राहत दिने निर्णय गरेको हो । केन्द्रीय बैंकको नीति अनुसार चैत्र मसान्तमा मात्रै ब्याजदर घटाउन पाउने भएपनि प्रिमियम भने घटाउर राहत दिन सक्नेछन् । सानिमा बैंकले ऋणीहरुलाई राहत दिन सोही उपाय अवलम्वन गरेको हो ।
बैंकहरुले मच्चाएको ब्याजदर आतंकको विरोधमा भोलि विहान ११ः०० बजे नयाँ बानेश्वरमा विशाल जनसभा आयोजना गरिएको पूर्व सन्ध्यामा बैंकहरुले ब्याजदर घटाउन थालेका छन् । यसैबीच, सानिमा बैंकले २ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको छ ।
चर्कोब्याजदरको मारमा परेका सर्वसाधारणहरुले बैंकहरुका विरुद्धमा सम्झौताहिन आन्दोलन अघि बढेपनि बैंकर्स संघले भने ब्याजदर नघटाउन बैंकहरुलाई कडा निर्देशन दिँदै आन्दोलनको विरुद्धमा बक्तव्यबाजी गरिरहेको छ । तर, सानिमा बैंकले भने आफ्ना ऋणीहरुको बाँच्न नसकेमा बैंक नै नबाँच्ने भन्दै २ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको स्वीकार गरेको छ ।
बैंकका सूचना प्रमुख सूचना अधिकारी तेज बहादुर चन्दले सानिमा बैंकले ऋणीहरुलाई बचाउने उद्देश्यले नेपाल राष्ट्र बैंकको नियमनको परिधिभित्रै रहेर ब्याजदर घटाउने कार्यलाई नियमित कार्यको रुपमा गरिरहेको बताए । उनले भने, ‘ब्याजदर घट्ने बढ्ने नियमित कार्य हो । फागुनबाट निक्षेपको ब्याजदर घटेकोले बेसरेट घट्न गई ब्याजदर स्वचालित रुपमा घटेहुन्छ ।’ चन्दले रिपेमेन्टको अवस्था हेरेर थुप्रै राम्रा ऋणीहरुको ब्यादजर घटेको बताए ।
उता, सानिमा बैंकले ब्याजदर घटाए पनि अन्य बैंकहरु भने ब्याजदर घटाउन तयार देखिएका छैनन् । अन्य बैंकहरुलाई बैकर्स संघको नेतृत्वमा ब्याजदर नघटाउन दवाव दिइएको एक बैंकका सिईओले नाम उल्लेख नगर्ने शर्तमा बीमापोष्टलाई बताए ।
नेपाल बैकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका सिईओ सुनिल केसीले चैत्र मसान्त नभई ब्याजदर घटाउन नपाउने राष्ट्र बैंकको प्रावधान भएकोले तत्काल ब्याजदर नघट्ने प्रतिक्रिया दिए ।