सूर्या र ज्योति लाइफको पाँच आर्थिक वर्षको कर चुक्ता नै नलिई वित्तीय विवरण बीमा प्राधिकरणबाट पारित भएको खुलासा
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणले कर चुक्ता नलिएका बीमा कम्पनीहरुको वित्तीय विवरण धमाधम पारित गर्ने गरेको खुलासा भएको छ । यसैक्रममा गत पुस ७ गतेदेखि एकीकृत कारोबार गरेको सूर्यज्योति लाइफ मर्जर हुनुअघि सूर्या लाइफ र ज्योति लाइफले कूल पाँच आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र नै नलिई वित्तीय विवरण पारित गरेको खुलेको छ ।
बीमापोष्टले गरेको अध्ययनको क्रममा प्राधिकरणले सूर्या लाइफले आव २०७६।०७७, आव २०७७।०७८ र आव २०७८।०७९ को कर चुक्ता प्रमाण पत्र नै नलिई आव २०७७।०७८ सम्मको वित्तीय विवरण पारित गरिदिएको खुलेको छ । त्यस्तै, ज्योति लाइफले आव २०७७।०७८ को कर चुक्ता नै नलिई सो आवको वित्तीय विवरण बीमा प्राधिकरणबाट पारित भइ बार्षिक साधारणसभा समेत सम्पन्न भइसकेको छ ।
राज्यलाई तिर्नु बुझाउनुपर्ने कर कम्पनीहरु आफूले बुझाउन सक्ने भएपनि कर कार्यालयमा सम्पूर्ण विवरण पेश गरेर कर चुक्ता प्रमाणपत्र लिनुपर्ने हुन्छ । नेपालको प्रचलित कानुन बमोजिम पछिल्लो आवको कर चुक्ता प्रमाणपत्र नभई कुनै पनि सरकारी सेवा प्रवाह गर्न पाइदैन ।
आव २०७७।०७८ सम्मलाई कट अफ डेट मानेर सोही आवको डिडिए, एक्चुरीयल भ्यालुएशन समेत सम्पन्न गरेर एनएफआरएस अनुसारको वित्तीय विवरण बुझाएका उनीहरुले कर चुक्ता प्रमाणपत्र भने लिन जान सकेका छैनन् । कर चुक्ता प्रमाणपत्र लिने बेलामा करको गणना, प्रमाणित नहुने खर्च बापतको थप रकम कर तिर्नुपर्ने हुन्छ ।
आन्तरिक राजश्व कार्यालयको तथ्याङ्क अनुसार सूर्या लाइफले तीन आर्थिक वर्ष आव २०७६।०७७, आव २०७७।०७८ र आव २०७८।०७९ को कर चुक्ता लिन बाँकी छ । त्यस्तै ज्योति लाइफको नाममा आव २०७७।०७८ र आव २०७८।०७९ को कर चुक्ता प्रमाणपत्र लिन बाँकी छ ।
हाल सूर्यज्योति लाइफको रुपमा एकीकृत कारोबार गर्दै आएको कम्पनीको नाममा पाँच आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र लिनुपर्ने दायित्व बाँकी रहेको आन्तरिक राजश्व कार्यालयले रेकर्डमा देखिएको छ ।
हाल सूर्यज्योति लाइफको रुपमा एकीकृत कारोबार गर्दै आएको दुई कम्पनीको कर चुक्ताको विषयमा नियामक बीमा प्राधिकरण मात्रै नभएर नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रार कार्यालय समेत चुक्न पुगेको छ । पाँच आर्थिक वर्षको कर चुक्ता नलिएको कम्पनीलाई कसरी मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरियो ? प्रश्न उठेको छ ।
कूल पाँच आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र लिन बाँकी भएपनि दुवै कम्पनीहरुले नेपाल सरकारलाई तिर्नु बुझाउनुपर्ने कर भने बुझाएका छन् । तर, कर चुक्ता प्रमाणपत्र नलिएसम्म सबै रकम नतिरेको हुनसक्दछ । करको गणनाको क्रममा कर कार्यालयबाट थप रकम कर तिर्नुपर्ने गरी थप कर निर्धारण हुनसक्दछ । ज्योति लाइफ इन्स्योरेन्सको शाखा विस्तारको क्रममा गरिएका कतिपय खर्चहरुमा कर कार्यालयले बेरुजुमा राखेर आयको रुपमा गणना गरी थप कर निर्धारण गर्न सक्ने छ ।
कर गणनाको क्रममा प्रमाणित नहुने खर्चलाई कर अधिकृतले मुनाफा मानेर २५ प्रतिशत आयकर तथा सोमा लाग्ने ब्याज असुल गर्न सक्छन् ।