बीमा ऐनको दफा ४७ (३): नेपाल लाइफका सञ्चालक र सूर्य ज्योति लाइफका स्वतन्त्र सञ्चालक अग्रवालद्धयले पद छोड्नु नपर्ने !

१६ फाल्गुन २०७९, मंगलवार १०:५८

काठमाडौं । बीमा ऐनको दफा ४७ अनुसार एकै प्रकृत्तिको दुई बीमक कम्पनीमा एकाघरको परिवारका सदस्यहरु एक भन्दा बढि सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ ।

सो व्यवस्था अनुसार बीमा प्राधिकरणले एकाघरका सदस्य भएका र एउटै प्रकृत्तिका बीमा कम्पनीहरुमा सञ्चालक रहेकाहरुको सूचि तयार गर्दैछ । सो ऐन अनुसार नेपालमा सञ्चालित बीमा कम्पनीहरुमा उस्तै प्रकृत्तिमा बीमा कम्पनीमा भएका सञ्चालकहरुले दुई मध्ये एक जनाले पद त्याग गर्नुपर्ने भएको छ । त्यसको लागि बीमा प्राधिकरणले अध्ययन सुरु गरेको छ ।

बीमा ऐनको दफा ४७ उपदफा (३) बमोजिम एकै बीमा कम्पनी वा उस्तै प्रकृत्तिको बीमा कम्पनीमा एकाघरको सदस्य सञ्चालक बन्न नपाउने स्पष्ट व्यवस्था गरेको छ । सो व्यवस्था अनुसार भन्दै नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवाल र सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा उनका छोरा जयन्त कुमार अग्रवाललाई स्वतन्त्र सञ्चालक रहेकामा दुई मध्ये एक जनाले पद छोड्न मौखिक निर्देशन दिएको कुरा बाहिर आएको छ । उक्त प्रकरणमा नियामक निकायले के निर्णय गर्नेछ, त्यो प्रतिक्षाकै विषय भएको बेला नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवालले भने आफूलाई १४ वर्ष पहिले नै अंश लिई भिन्दाभिन्दै परिवार भइसकेको भन्दै सो नियम लागू नहुने बताएका छन् ।

नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्र्रवालले भने, ‘हामी बाबु छोरा हौं, तर २०६५ सालमा नै मानो छुट्टीई अंशबण्डा समेत भएर वैधानिक रुपमा अलग रहेकोले एकाघर भनेर भन्न मिल्दैन ।’

सञ्चालक अग्रवालको दावी अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका र सूर्य ज्योति लाइफका सञ्चालक अग्रवालद्धयलाई बीमा ऐन २०७९ को दफा ४७ (३) नलाग्ने देखिएको छ । कमलेश कुमार अग्रवाल र जयन्त कुमार अग्रवाल बाबु–छोरा हुन् । तर, उनीहरुका बीचमा प्रचलित कानुन बमोजिम २०६५ सालमा अंशबण्डा भइसकेकोले कानुनतः एकाघरको परिवार भनेर मान्न सकिने अवस्था छैन । नेपालको कानुनले अंशबण्डा भइसकेका बाबुछोरा, श्रीमान श्रीमतीलाई फरक फरक परिवार मान्ने गरेको छ ।

त्यस्तै, सूर्य लाइफका स्वतन्त्र सञ्चालक जयन्त कुमार अग्रवाल निर्वाचित संस्थापक वा सर्र्वसाधारणको तर्फबाट सञ्चालक नभई एक कार्यकालका लागि मात्रै नियुक्त भएका स्वतन्त्र सञ्चालक भएकोले दफा ४९ (२) बमोजिमको स्वतन्त्र सञ्चालक हुन बाधा नपुग्ने देखिएको छ । सो दफाले स्वतन्त्र सञ्चालकको छुट्टै परिभाषित गरिदिएकोले बीमा ऐन बमोजिम नेपाल लाइफका सञ्चालक र सूर्य ज्योति लाइफका स्वतन्त्र सञ्चालकको पद तत्कालको लागि छोड्नु नपर्ने देखिएको छ ।

*सम्पादन गरिएको

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*