मेट लाइफलाई ३३ करोड अमेरिका लैजान दिने प्राधिकरणको निर्णय पूर्वाग्रही, अध्यक्ष–सञ्चालकहरुमाथि प्रश्न

१५ फाल्गुन २०७९, सोमबार ०९:२८

काठमाडौं । बीमा प्राधिकरणले अमेरिकी जीवन बीमा कम्पनी मेट लाइफलाई गत आवमा आर्जित मुनाफा बापत ३३ करोड रुपैयाँ अमेरिका लैजान अनुमति दिने कागजातमा हिजो हस्ताक्षर भएको छ । तर, उक्त निर्णयले बीमा प्राधिकरण पूर्वाग्रही भएको तथ्य मात्रै बाहिर आएको छैन, राज्यविहनताको अवस्थाको समेत उजागर गरिदिएको छ ।

राज्यद्धारा प्रदान गरिएको प्रिभिलेजको क्षेत्रमा फर्जी र कागजी रुपमा कार्यालय सञ्चालन गरी एक रुपैयाँ पनि लगानी नगरी सञ्चालित कम्पनी हो मेट लाइफ । उक्त कम्पनीले गत आवमा आर्जिक मुनाफाबाट ३३ करोड रुपैयाँ लाभांश बापत भन्दै अमेरिका पठाउने निर्णयमा बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा सञ्चालकहरु कोशलचन्द्र सुवेदवी, कपिलदेव ओली, रितेश शाक्य र सन्तोष रिजालले समेत हस्ताक्षर गरेका छन् । देश आर्थिक संकटमा छ, अन्य बीमा कम्पनीहरुमा पुँजि बृद्धिको आतंक मच्चाइएको छ । तर, नेपालमा एक पैसा पनि पुँजि ल्याएर लगानी नै नगरेको कम्पनीले बचत परिचालन बापत आर्जन गरेको मुनाफालाई विदेश लैजान दिन निर्णय अर्थमन्त्रालय मातहतकै बीमा प्राधिकरणले गरिदिएपछि बीमा क्षेत्रमा आश्चर्यजनक रुपमा हेरिएको छ ।

नेपाल बीमा प्राधिकरण नियामक निकाय मात्रै नर्भइ नेपाल सरकारको समेत अंग हो । नेपाल सरकारले नेपाली कम्पनीहरुलाई ९ महिनाभित्रमा चुक्ता पुँजि दोब्बर, तेब्बर पार्नुपर्ने निर्देशन जारी गरेको छ । सोही निर्देशन बमोजिम चुक्ता पुँजि पुर्याउन नसकेका बीमा कम्पनीहरु भटाभट मर्जरमा गइरहेका छन् । चुक्ता पुँजि बृद्धिका लागि बीमा कम्पनीहरु मर्जरमा जानुपर्ने, नभए–नमानेमा कारवाही भोग्नुपर्ने विद्यमान अवस्था छ । तर, त्यही बीमा प्राधिकरणको नियमनमा चल्दै आएको विदेशी कम्पनीको नेपालस्थित शाखा कार्यालय मेट लाइफलाई भने पुँजि लगानी नगरी करोडौ रुपैयाँ विदेश लैजान अनुमति दिइएको विषयले बीमा प्राधिकरणका अध्यक्ष सहितका सञ्चालकहरुको नियत, कार्यक्षमता र नैतिकतामाथि प्रश्न चिन्ह उठेकोे छ ।

नेपालको संविधानले कानुन सबैलाई समान हुने भनेको छ । समान कानुन लागू हुने संविधान भएको एउटा देशको नियामक निकायले दुई थरी नीति बीमा क्षेत्रमा कसरी लागू गरिहेको छ । अनि त्यस्तो निर्णयमा कानुन मन्त्रालयका सह–सचिव कोशलचन्द्र सुवेदी र अधिवक्ता समेत रहेका अर्का एक जना सञ्चालकले हस्ताक्षर गरेका छन् ।

कुख्यात अन्तर्राष्ट्रिय अपराध चाल्र्श शोभराजले नेपालको विमानस्थलबाट हात्ति समेत छिराईदिन्छु अर्थात जे पनि सम्भव छ भन्थे, अहिले बीमा प्राधिकरणमा त्यस्तो देखिएको छ । नैतिकता, सिद्धार्थ र न्यायका लागि आधारभूत मापदण्ड, आधारभूत तहमा समेत उभिन नसक्दा नियमन कमजोर बन्दै गइरहेको छ भने बीमा प्राधिकरणका उच्च नेतृत्व बदनाम । यसको पछिल्लो श्रृंखला पनि अब विवादमा फस्ने निश्चित भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*