नाडा एशोसियन र भन्सार विभागका महानिर्देशकबीच भन्सार नाकाहरुमा रहेको समस्याबारे छलफल

१२ फाल्गुन २०७९, शुक्रबार १३:४४

काठमाडौं । नाडा एशोसिएनका प्रतिनिधि र भन्सार विभागका महानिर्देशकबीच छलफल भएको छ । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासंग भेटगरी भन्सार नाकाहरुमा लामो समय देखि रहेका सवारीका साधनहरु छुटाउने सम्बन्धमा त्यसको सहज निकासका लागि आग्रह गर्नु भएकोे हो ।

उक्त छलफलमा नाडाका अध्यक्ष थापाले सरकारले सवारी साधनहरुको आयातमा लगाएको प्रतिवन्ध खुलाए पनि सो आयात प्रतिवन्ध लगाउनु अघि देखि नै नेपाल राष्ट्र बैंकले लागु गरेको अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा नल्याएसम्म सवारी साधनहरुको खरिद विक्रीमा कुनै सुधार हुन नसकेको भन्दै यसै कारण सवारी साधन पैठारीकर्ताहरुले भन्सार नाकाहरुबाट आफना सवारी साधनहरु उठाउन नसकेको स्पष्ट पारेका थिए ।

सोही क्रममा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठले कार जीप र भ्यान जस्ता सवारी साधनहरुको बजार वार्षिक १७÷१८ हजार रहेकोमा अहिले त्यो घटेर ७÷८ हजारमा झरेको बताउनु हुदै कूल सवारी साधनहरुको विक्रीे ८५ प्रतिशतसम्म बैंक ऋणबाटै हुने गरेको समेत बताउनु भयो । त्यसैगरी सो छलफलमा नाडाका सहकोषाध्यक्ष पंकज अग्रवालले एल.सि खोलेर ल्याएका स्पेयर पार्टसहरुको मूल्याङ्कनमा पनि समस्या आईरहेकोले पैठारीकर्ताले पेश गरेको विल मूल्यलाई मान्यता दिन आग्रह गर्दे सन्दर्भ मूल्य सूचिले व्यवसायीहरुलाई धेरै समस्या परिरहेकोले सो सन्दर्भ मूल्य सूचिलाई खारेज गर्नु पर्ने धारणा राखेका थिए ।

उक्त छलफलको अन्तमा महानिर्देशक चक्रबहादुर बुढाले भन्सार नाकाहरुमा रहेका सवारी तथा ढुवानीका साधनहरुको सम्बन्धमा मन्त्रालयमा समेत पटक पटक छलफल भईसकेको जानकारी दिनु हुदै नेपालका कुन कुन भन्सार नाकाहरुमा के कस्ता ब्राण्डका के कति संख्यामा सवारीका साधनहरु ( दुई पाँगे्र तथा तीन पाँग्रे वाहेक) भन्सार परिसरमा छुटाउन बाँकी रहेका छन् त्यसको विवरण यथाशीघ्र विभागमा पठाई दिन अनुरोध गर्नु भयो । यसै क्रममा महानिर्देशक बुढाले विभागले छिटै मूल्याङ्कन गोष्ठिको आयोजना गर्न लागेको समेत जानकारी दिए ।

 

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*