पोखरा महानगरपालिकासँग बीमा प्राधिकरणको अन्तरक्रिया, बर्ग समुह पहिचान गरेर बीमा शुल्क अनुदान दिन अध्यक्ष सिलवालको आग्रह
काठमाडौं । नेपाल बीमा प्राधिकरणले गण्डकी प्रदेशस्थित पोखरा महानगरपालिकासँग बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक पुजन ढुंगेलसहितको उपस्थितिमा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ तथा अन्य जनप्रतिनिधिहरुलाई बीमा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको हो ।
बीमा प्राधिकरणका अध्यक्षले कार्यक्रममा पोखरा महानगरभित्रका जनताको बर्गीकरण गरी बीमा शुल्क अनुदान दिन आर्थिक सहायता दिनुपर्ने बर्ग समुदाय पहिचान गरेर आवश्यक सहुलियत दिन आग्रह गरेका छन् । अध्यक्ष सिलवालले पोखरा महानगरभित्रका घर तथा सम्पत्ति बीमा गर्न प्रोत्साहन गर्न जनचेतना जगाउन आवश्यक भएको बताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले बीमा गरेका मानिसहरुले दावी भुक्तानी पाउनै समस्या रहेकोले बीमा प्राधिकरणले जनतामा बीमा सचेतनासँगै बीमा कम्पनीहरुलाई दावी भुक्तानी समयमै दिनुपर्ने कुरा समेत सिकाउन कडा नियमन गर्न सुझाव दिईन् ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रदेव भारतीले क्षति न्यूनिकरणको लागि बीमा जरुरी भएको बताउँदै महानगरपालिकाले सम्पत्तिको बीमा अनिवार्य गर्न पहल गर्ने बताए ।
सो कार्यक्रममा नेपाल बीमक संघका महासचिव तथा नेको इन्स्योरेन्स कम्पनीका सिईओ अशोक खड्का र एलआईसी नेपालका सिईओ एलपी दासको उपस्थिति रहेको थियो ।
हिजै पोखरास्थित नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयमा निप्स पोखरा शाखाबीच छलफल सम्पन्न भएको छ ।