चिनियाँ चेतावनीपछि प्रम प्रचण्डको भाषा फेरियो, वाम गठबन्धनकै पक्षमा उभिने माओवादी निर्णय

८ फाल्गुन २०७९, सोमबार २२:४२

काठमाडौं । भारतीय विदेश सचिवसँगको विशेष मन्त्रणा र भारतीय एजेन्टहरुसँगको घुलमिलपछि वर्तमान सत्ता गठबन्धन भत्काएरै भएपनि भारतीय झुकाव भएकालाई राष्ट्रपति बनाउन हौसिएका माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड अन्ततः युटर्न गर्दै वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाउने निर्णय गर्न बाध्य भएका छन्् । हिजो चिनियाँ राजदूतले कडा चेतावनी दिएपछि प्रचण्ड भारतीयहरुसँगको सामिप्यतामा रमाउन नसक्ने भन्दै लाइन फेर्न बाध्य भएका हुन् ।

काठमाडौंस्थित चिनियाँ राजदूतले बेईजिङकै लाईन अनुसार ‘आनन्दको सिर्जना गर्नको लागि मार्शल आर्ट खेलौ’ भन्ने चेतावनीयुक्त ट्वीट गरेको भोलिपल्ट बसेको माओवादी केन्द्रको बैठकमा प्रम प्रचण्ड राष्ट्रिय सहमति छोडेर लुत्रुक्क परेर कांग्रेससँगको गठबन्धन अन्त्य गर्दै वाम गठबन्धन गर्र्ने टुंगोमा पुगेका छन् । यद्यपि सो सम्बन्धी निर्णय भने भइसकेको छैन ।

बैठकमा सहभागी माओवादी नेताका अनुसार आज प्रचण्ड निकै तनाव र हतास देखिएका थिए । दुई विशाल छिमेकी सामू खेल्न खोजेका प्रचण्डले कडा चेतावनीको सामना गर्नुपरेपछि आज यु टर्न गर्दै वर्तमान वाम गठबन्धन सहितको सत्ता गठबन्धन कायमै राख्नेमा दृढ हुने निर्णय गराउँदै त्यसको सबै जिम्मेवारी भने प्रचण्डले लिने निर्णय गराएका हुन् ।

स्रोतका अनुसार अब कांग्रेसले भनेको व्यक्ति नभई सत्ता गठबन्धनको निर्णय अनुसारको नयाँ राष्ट्रपति चयन हुनेछन् । नयाँ राष्ट्रपतिका रुपमा माधव कुमार नेपालको नाम समेत चर्चामा आएको छ । तर, एमालेले पार्टी एकता र आत्मालोचना नगरेसम्म माधव नेपाललाई स्वीकार गर्न सक्ने अवस्था नभएको चर्चा राजनीतिक वृत्तमा चलेको छ । आजै बालुवाटारमा भएको केपी ओली र माधव नेपाल बीचको भेटवार्ता फलदायी हुँदै गएको र यसले राष्ट्रपतिको निर्वाचनसम्म पुर्याउन सक्ने विश्वास गरिएको छ । केपी ओलीले पार्टी एकतासहित राष्ट्रपतिको प्रस्ताव अघि सारेका छन् ।

उता, काठमाडौंस्थित चिनियाँ राजदूत चेन सङले मार्शल आर्ट खेल्न दिएको चेतावनीले नेपालको राजनीतिक र कुटनीतिक वृत्तमा चर्चा चलेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*