नयाँ लघु बीमालाई पुँजि जुटाउन प्राधिकरणको निर्देशन, गार्डियन लघु लाइफको पुँजि जुट्दै, शेखर गोल्छा,भवानी राणा देखि दुगड समूहसम्मको लगानी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीलाई चुक्ता पुँजि जम्मा गर्ने निर्देशन दिईसकेको छ । बीमा प्राधिकरणले ४५ दिनभित्र हाल संचालनमा आउन लागेका लघुबीमा कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजि पुराउने निर्देशन दिएको हो ।बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले ४५ दिनको समय तोकेर पुँजि जम्मा गर्न निर्देशन दिएको बताए । उनले भने, ‘कम्पनीले समयमै आवश्यक प्रकृया गरे व्यवसाय संचालनको लागि इजाजत दिनेछौं ।’
कम्पनीहरुलाई चुक्ता पुँजीको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ बैंक खातामा जम्मा गर्न र बाँकी ३० प्रतिशत चालु खर्चलाई छुट्याउन निर्देशन दिइएको उनले बीमापोष्टलाई बताए ।
प्राधिकरणले माग गरेको आवेदनमा ३१ लघुबीमा कम्पनीले प्रस्ताव पेश गरेका थिए । ३१ वटा कम्पनी मध्येबाट सात प्राधिकरणले लघुबीमा कम्पनीलाई प्राधिकरणले लाईसेन्स दिने निर्णय गरेको थियो ।प्राधिकरणले जीवन तर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सलाई लाइसेन्स दिने निर्णय गरेको थियो ।
त्यस्तै निर्जीवन तर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई अनुमति दिएको थियो । यी सात वटै लघुबीमा कम्पनीले कम्पनी रजिष्ट्रारमा कम्पनी दर्ता गरिसकेका छन् ।
यी कम्पनीहरुलाई बीमा प्राधिकरणले तोकेका समयावधिभित्र चुक्ता पुँजि पुराउनुपर्नेछ । बीमा प्राधिकरणले यस बिषयमा थप अध्ययन गर्दैछ । यी सबै प्रकृया अन्तिम चरणमा पुगेको हुनाले बीमा ऐन अन्तर्गत शेयरधनीहरुलाई पूँजी जुटाउन ४५ दिनको समय दिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
प्राधिकरणले सातवटै प्रदेशमा केन्द्रिय कार्यालय रहने गरि लाइसेन्स दिएको हो । जसमा गार्डियन माइक्रो लाइफले प्रदेश एकको विराटनगरमा केन्द्रिय कार्यालय खोल्नेछ । त्यस्तै क्रेष्ट माइक्रो लाइफले कर्णाली प्रदेशको विरेन्द्रनगरमा र लिवर्टी माइक्रो लाइफले गण्डकी प्रदेशको पोखरा ८ कास्किमा केन्द्रिय कार्यालय खोल्नेछ ।
त्यस्तै, निर्जीवन तर्फ ट्रष्ट माइक्रोले लुम्बिनी प्रदेशको बुटवल २ मा केन्द्रिय कार्यलाय खोल्नेछ । त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्सले बागमति प्रदेशको भरतपुर चितवन एकमा, स्टार माइक्रोले मधेश प्रदेशको जनकपुरधाममा र प्रोटेक्टिभ माइक्रोले सुदुरपश्चिम प्रदेशको धनगढी तीनमा केन्द्रिय कार्यालय रहेको छ ।लघु बीमा कम्पनीहरुको न्युनतम चुक्ता पूँजी ७५ करोड रुपैयाँ तोकिएको छ । अहिले तत्काल सबै कम्पनीले ५२ करोड ५० लाख जुटाउनु पर्नेछ । लघुबीमा कम्पनीको लाइसेन्स लिँदा क्रस होल्डिङ हुने गरी लगानी गर्न नपाइने व्यवस्था गरिएको छ ।
काठमाडौं । गार्डियन लघु लाइफमा शेखर गोल्छादेखि दिपक भट्टसम्मको लगानी रहेको छ। प्राधिकरणले सबै लघुबीमा कम्पनीहरुलाई ४५ दिनभित्र चुक्ता पुँजि पुराउने निर्देशन दिईसकेको छ। गार्डियन लघु लाइफले भने पुँजि जुटाउन सुरु गरेको छ । स्रोतका अनुसार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा कूल ४९ करोड ५० लाख रुपैयाँ लगानी जुटेको छ । स्रोतका अनुसार अन्य कम्पनीहरु भने पुँजि जुटाउने अन्तिम तयारीमा लागिरहेका छन् ।यस लघुबीमा कम्पनीमा शेखर गोल्छा र दिपक भट्ट र भवाणी राणा सहित ४४ जनाको लगानी छ ।
हुलास अटोक्राफ्टका शेखर गोल्छाले एक करोड, पशुपति मुरारकाले ५० लाख र टाइटेनियम क्यापिटलका भवानी राणाले ५ करोड ५० लाख रुपैयाँ बराबरको लगानी गरेका छन् ।गार्डियन माइक्रो लाइफमा सबैभन्दा बढी लगानी एसजी फिन्कोर्पका शंकरलाल अग्रवालले गरेका छन् । यो कम्पनीमा उनको ११ करोड २५ लाख रुपैयाँ बराबरको लगानी छ ।
नेप्बुल्ल्स क्यापिटलका रेणु अग्रवालको ७ करोड ५२ लाख, इन्फिनिटी होल्डिङ्स्का दिपक भट्टको ६ करोड, राजबहादुर शाहको ३ करोड, शुभम दुगडको ३ करोड, मेटा इन्भेष्टमेन्ट कम्पनीका सुजा शाक्यको १ करोड २५ लाख, लिला अग्रवाल, सुलोचना अग्रवाल र प्रिन्टसेल इमेजिंगका निलम देवी जैनको एक÷एक करोड रुपैयाँ यस कम्पनीमा लगानी छ ।
त्यसैगरी, व्यवसायी पशुपति मुरारकासहित ७ जनाले कम्पनीमा ५० लाख रुपैयाँ लगानी गरेका छन् । र, ५० लाखभन्दा कम अर्थात १० लाखभन्दा बढी लगानी गर्नेमा अन्य २६ जना लगानीकर्ताहरु रहेका छन् ।
बीमा प्राधिकरणले गत मंसिर ११ गते लघुबीमाको लाइसेन्स दिएको थियो । यससँगै कम्पनीहरुले आआफ्नो कार्यालय स्थापना गरी कम्पनी रजिष्ट्रारमा दर्ता गर्नुपर्ने हुन्छ ।यी कम्पनीले बीमा ऐनको दफा २८ र २९ बमोजिम नेपाल बीमा प्राधिकरणमा निवेदन दिएर व्यवसाय सञ्चालनको लागि इजाजत लिनुपर्ने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ । त्यो इजाजत लिने क्रममा पछिल्लो समय प्राधिकरणमा धमाधम निवेदन आउन थालेको प्राधिकरणको भनाई छ ।