व्यवस्थापन खर्च घटाउँदै जीवन बीमा कम्पनी, कुनको कति ? (तथ्याङ्कसहित)

८ फाल्गुन २०७९, सोमबार १२:३८

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९।८० को ६ महिनासम्ममा ४ अर्ब ८१ करोड ६५ लाख रुपैयाँ व्यवस्थापनमा खर्चिएका छन् । १८ जीवन बीमा कम्पनीले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सो अवधिसम्म कम्पनीहरुको व्यवस्थापन खर्च ४.२०% ले घटेको छ ।

गत आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीहरुले ५ अर्ब २ करोड ७६ लाख रुपैयाँ व्यवस्थापनमा खर्चिएका थिए । एक वर्षको तुलनामा कम्पनीहरुको व्यवस्थापन खर्च घट्न पुगेको हो । नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम जीवन बीमा कम्पनीहरुले एक आपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्झौता गरेतापनि केही कम्पनीबाहेक अधिकांश कम्पनीको व्यवस्थापन खर्च घटेको वित्तीय रिर्पोटले देखाएको छ ।

१८ मध्ये ८ कम्पनीको व्यवस्थापन खर्च बढेको छ भने १० कम्पनीको व्यवस्थापन खर्च घटेको छ । सबैभन्दा बढी खर्च बढ्नेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ । साविक सूर्या लाइफ र ज्योति लाइफबीच मर्ज भई एकीकृत कारोबार सुरु गरेसँगै पनि सूर्यज्योतिको व्यवस्थापन खर्च यस अवधिसम्म ४४.०८ प्रतिशतले बढेको छ । पुष मसान्तसम्म सूर्यज्योतिले ३७ करोड ५६ लाख ९९ हजार रुपैयाँ व्यवस्थापनमा खर्च गरेको छ ।

त्यस्तै, दोस्रोमा राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थानले सो अवधिसम्म १४ करोड ९८ लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेको छ । यो खर्च गत वर्षको तुलनामा १९.१०% ले बढी हो । साथै कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफको पनि यस अवधिसम्म यस्तो खर्च १४.६६ प्रतिशतले बढेको छ । त्यस्तै, एलआइसी नेपालको ८.३२ प्रतिशत, प्रभु लाइफको ५.१० प्रतिशत, सानिमा लाइफको ५.१० प्रतिशत, रिलायबल नेपाल लाइफको १.९० प्रतिशत र आइएमई लाइफको ०.८५ प्रतिशतले व्यवस्थापन खर्च बढेको छ ।

व्यवस्थापन खर्च घटाउने १० जीवन बीमा कम्पनी
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पुष मसान्तसम्म १० जीवन बीमा कम्पनीले व्यवस्थापन खर्च घटाएका छन् । कम्पनीहरुले बीमा ब्यवसाय बढाएसँगै यता ब्यवस्थापन खर्च समेत घटाउन पुगेका हुन् ।

यस अवधिसम्म सबैभन्दा बढी व्यवस्थापन खर्च घटाउने कम्पनीमा सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ। गत वर्षको पुष मसान्तसम्म ३७ करोड ३६ लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेको कम्पनीले यस अवधिसम्म ३० करोड ६ लाख रुपैयाँमा सीमित बनाएको छ । यो खर्च गत वर्षको तुलनामा १९.५४ प्रतिशतले कम हो ।

त्यस्तै, दोस्रोमा मेट लाइफले पनि सो अवधिसम्म १३.४० प्रतिशतले व्यवस्थापन खर्च घटाएर २३ करोड १६ लाख रुपैयाँमा कायम गरेको छ । साथै रिलायन्स लाइफले १३.३४ प्रतिशत, सन नेपाल लाइफले १२.७० प्रतिशत, प्राइम लाइफले १२.६८ प्रतिशत, नेशनल लाइफले १२.२५ प्रतिशत, नेपाल लाइफले ११.९५ प्रतिशत, एशियन लाइफले ११.२१ प्रतिशत, युनियन लाइफले८.५१ प्रतिशत, गुराँस लाइफले १.३३ प्रतिशतले व्यवस्थापन खर्च घटाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*