रिलायन्स लाइफ र सानिमा लाइफको एकिकृत कारोबार अन्तिम चरणमा, कहिले होला एकिकृत कारोबार ?
काठमाडौं । रिलायन्स लाइफ र सानिमा लाइफको एकिकृत कारोबार अन्तिम चरणमा पुगेको छ। लामो समयदेखि छलफलको चरणमा रहेको कम्पनीको एकिकृत कारोबारको मिति पनि अन्तिम चरणमा पुगेको छ ।
यी दुई कम्पनीबीच चैत ७ गते एकिकृत कारोबार हुने मर्जर कमिटि स्रोतले जनाएको छ। यी दुई कम्पनीबीच मर्जरपश्चात् सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारोबार हुने भएको छ।हाल सानिमाको चुक्ता पूँजी २ अर्ब ८ करोड रुपैयाँ छ भने रिलायन्सको २ अर्ब १० करोड रुपैयाँ रहेको छ । । बीमा समितिले पछिल्लो समय निर्देशन गरे अनुसार जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषमा चार अर्ब २५ करोड ३३ लाख ४९ लाख रुपैयाँ संचिती छ । गत आवको यसै अवधीको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार २६।२४ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै जगेडा कोष १२० प्रतिशतले बृद्धि हुँदा समग्र कोषको आकार३१ प्रतिशतले बृद्धि भई चार अर्ब ७० करोड नाघेको छ । जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष सबैभन्दा महत्वपूर्ण हुन्छ ।
त्यस्तै कम्पनीको हालकायम बीमा पोलिसी संख्या उच्च अंकले बृद्धि भई एक लाख ६९ हजार ६०० बाट बढेर चार लाख ७३ हजार ३८६ वटा पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १५।८८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२१।७२ रुपैयाँ, प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३२४।२६ रुपैयाँ रहेको छ ।
सानिमा लाइफले दोस्रो त्रैमासम्म कम्पनीले ४ अर्ब ८ करोड ५३ लाख रुपैयाँ बीमा कोष खडा गर्न सफल भएको छ । गत आवको तुलनामा कम्पनीको बीमा कोषको आकार ४४।३८ प्रतिशतले बढ्न पुगेको हो । गत आवको यसै अवधिसम्म कम्पनीको बीमा कोषमा २ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ संचित रहेको थियो ।
यसकासाथै अन्य कोषको आकार समेत यस अवधिमा बढ्न पुगेको छ । सानिमा लाइफले जीवन बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै पुष मसान्तसम्ममा जगेडा कोषको आकार ८।०२ प्रतिशत र महाविपत्ती कोषको आकार २८।२५ प्रतिशतले बढाएको छ ।
कम्पनीले यस अवधिसम्म गत आवको तुलनामा मुनाफा २३।६३ प्रतिशतले बढेको छ । यस अवधिसम्म कम्पनीले ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । साथै कम्पनीको जारी बीमा पोलिसी संख्या समेत शतप्रतिशतले बढेको छ ।
पुष मसान्तसम्म कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, सानिमा लाइफको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ १९ पैसा रहेको छ ।