खर्च कटौती गर्दै जीवन बीमा कम्पनी, स्वास्थ्य परिक्षण शुल्क ४३% ले घट्यो
काठमाडौं । १८ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बीमितहरुको स्वास्थ्य परिक्षणमा ३ करोड ४४ लाख ८६ हजार रुपैयाँ खर्चिएका छन् । कम्पनीहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार जीवन बीमा कम्पनीहरुको स्वास्थ्य परिक्षण शुल्क ४३.४४ प्रतिशतले घट्न पुगेको हो ।
चालु आर्थिक वर्षको ६ महिनासम्म ७१ अर्ब ६५ करोड २० लाख ५४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका १८ जीवन बीमा कम्पनीले आफ्ना बीमितहरुको स्वास्थ्य परिक्षणका लागि जम्मा ३ करोड ४४ लाख रुपैयाँमात्रै खर्चिएको देखिएको छ । गत आवको यसै अवधिसम्म कम्पनीहरुले स्वास्थ्य परिक्षणमा ६ करोड ९ लाख रुपैयाँ खर्चेको थियो ।
विवरणअनुसार कम्पनीहरुले स्वास्थ्य परिक्षण शुल्क घटाएसँगै कम्पनीको जोखिम पनि उत्तिकै बढ्ने देखिन्छ । जीवन बीमा कम्पनीहरुले बीमितले बीमा गर्नुअघि निजको स्वास्थय परिक्षण गरेर मात्रै बीमा गनुपर्ने प्राबधान रहेको छ ।
तर पछिल्लो समय बीमा कम्पनीहरुले बीमितको स्वास्थ्य परिक्षण गनुपर्ने प्रावधानलाई कागजमा मात्रै सीमित राखेको वित्तीय विवरणले देखाएको छ । १८ मध्ये मेट लाइफ बाहेक सबै जीवन बीमा कम्पनीको स्वास्थ्य परिक्षण घट्दा बीमा क्षेत्रप्रति नै नकारात्मक असर पर्ने देखिन्छ ।
स्रोत : जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणको आधारमा
बीमा कम्पनीहरुले तीन–तीन महिनामा प्रकाशित गरेको वित्तीय विवरणमा स्वास्थ्य परिक्षण शुल्क सूचक छुट्याएका हुन्छन् । तर यसरी खर्चिको रकम वास्तविक स्वास्थ्य परिक्षणको लागि भने हुँदैन । पछिल्ला दिनमा बीमा कम्पनीहरुले औपचारिकताको लागि मात्रै स्वास्थ्य परिक्षण रिर्पोट तयार गर्ने गरेको देखिएको छ ।
जीवन बीमा कम्पनीहरुले बीमितको उमेर र बीमाङ्कको आधारमा स्वास्थ्य परिक्षण गर्नुपर्ने हुन्छ । जसमा धेरै उमेर पुगेका बीमितको स्वास्थ्य परिक्षण अनिवार्य गर्नुपर्ने हुन्छ । प्रावधानअनुसार ५–१० लाख रुपैयाँ भन्दा धेरैको बीमा गर्दा स्वास्थ्य परिक्षण गर्नुपर्ने हुन्छ । यसका साथै म्यादी बीमोलखअन्तर्गत वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको अनिवार्य स्वास्थ्य परिक्षण गर्नुपर्ने व्यवस्था रहेको छ ।
बीमा गर्न अयोग्य व्यक्तिहरुलाई रोक्न स्वास्थ्य परिक्षण अनिवार्य गरिएको हो । क्यान्सर तथा गम्भिर प्रकृतिका रोग लागेका व्यक्तिको बीमा नहोस भनेर स्वास्थ्य परिक्षण गर्नुपर्ने व्यवस्था राखिएको हो । यसरी वास्तविक परिक्षण नै नगराइ बीमा गर्दा कम्पनीमा दाबी पर्न सक्ने जोखिम उच्च रहन्छ । तर पछिल्लो समय जीवन बीमा कम्पनीहरुको रिर्पोट हेर्दा कम्पनीहरुले स्वास्थ्य परिक्षण नै नगराई बीमा गराएको देख्न सकिन्छ । जसले गर्दा कम्पनीको जोखिम बढ्दै जाने सम्भावना बढी रहन्छ ।