दोस्रो त्रैमासमा सिटिजन लाइफको उत्साहप्रद प्रगति, साढे सात अर्बको जीवन बीमा कोष, अन्य सूचांक कस्तो ?
काठमाडौं । जीवन बीमाको दीगो लक्ष्य पछ्याउँदै अघि बढेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको छ महिनामा उत्साहप्रद प्रगति गर्न सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष ५५.४० प्रतिशतले बृद्धि गर्न सफल भएको छ भने मुनाफा र आम्दानी दुवै बढाएर आफूलाई अब्बल कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ ।
जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष निकै महत्वपूर्ण हुन्छ । दीगो विकास लक्ष्य पछ्याएको सिटिजन लाइफले स्थापनाको छोटो अवधीमा नै सात अर्ब ५९ करोड ४६ लाख ५५ हजार रुपैयाँको शक्तिशाली कोष खडा गर्न सफल भएको छ । गत आवको यसै अवधीमा चार अर्ब ८८ करोड रुपैयाँको कोष रहेको कम्पनीमा यसआवको समीक्षा अवधीसम्म आइपुग्दा जगेडा कोष र महाविपत्ति कोष समेत गरी कूल आठ अर्ब ९८ करोड ९५ लाख ४७ हजार रुपैयाँको शक्तिशाली कोष खडा गर्न सफल भएको हो ।
कम्पनीको खुद बीमा शुल्क आम्दानी जम्मा २ प्रतिशतले बृद्धि भई दुई अर्ब ४६ करोड ७६ लाख ७५ हजार रुपैयाँ संकलन भएको छ । कम्पनीले कूल बीमा शुल्क बापत दुई अर्ब ६६ करोड ४९ लाख ८२ हजार रुपैयाँ संकलन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवको यसै अवधीमा दुई अर्ब ४८ करोड ३१ लाख ६४ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको थियो । कम्पनीको कूल बीमा शुल्क आम्दानी ७ प्रतिशतले बृद्धि भएको देखिएको छ ।
त्यस्तै, कम्पनीको खुद दावी भुक्तानी ५० करोडबाट बढेर ७२ करोड पुगेको छ । नयाँ कम्पनी भएकोले दावी भुक्तानी केही बढेको देखिएको हो । कम्पनीको लगानी, कर्जा तथा बीमालेख धितोमा कर्जाबाट प्राप्त आम्दानी ५६ प्रतिशतले बृद्धि भई ३२ करोडबाट बढेर ५१ करोड २२ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । त्यस्तै,कम्पनीको व्यवस्थापन खर्च १९.५४ प्रतिशतले घटाएर मितव्ययी बनेको देखिएको छ । स्रोत परिचालनबाट हुने आम्दानी उच्च अंकले बृद्धि हुनु र आर्थिक संकटका बीचमा कम्पनीको खर्च उच्च अंकले घटाउन सफल भएको तथ्याङ्कमा कुशल व्यवस्थापन र चुस्तदुरुस्त प्रशासनको तस्विर झल्किएको छ ।
कम्पनीले आफ्ना अभिकर्तालाई दिने कमिशन रकममा १८ प्रतिशतले घटेर ४१ करोडबाट झरेर ३४ करोडमा आएको छ ।
सिटिजन लाइफको खुद नाफा ११ करोडबाट बढेर १२ करोड तीन लाख ६६ हजार पुगेको छ । जुन अघिल्लो आवको तुलनामा ९.१५ प्रतिशतले बढि हो । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।
कम्पनीको हाल कायम पोलिसी संख्या १६ प्रतिशतले बृद्धि भई दुई लाख २१ हजारबाट बढेर दुईलाख ५६ हजार नाघेको छ । समग्रमा सिटिजन लाईफको वित्तीय अवस्था उत्साहप्रद प्रगति देखिएका छ भने दीगो विकास लक्ष्य पछ्याएको तथ्य वित्तीय विवरणबाट पुष्टि हुन आएको छ ।