एलआइसी नेपालको बीमा कोषमा एक खर्ब संचिती, खुद नाफा २८% ले बढ्यो
काठमााडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीको जीवन बीमा कोषको आकार उल्लेख्य बढ्न पुगेको छ ।
चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीको बीमा कोषको आकार १७.०२ प्रतिशतले बढेर कोषमा एक खर्ब एक अर्ब २१ करोड ४६ लाख रुपैयाँ संचिती रहेको छ । गत आवको यसै अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा ८६ अर्ब ४९ करोड ११ लाख रुपैयाँ संचिती रहेको थियो ।
पुष मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार बढेको देखिएको छ भने जगेडा कोषको आकार ४२.२३ प्रतिशत र महाविपत्ती कोषको आकार ०.१२ प्रतिशतले घटेको छ । यसरी सो अवधिसम्म कम्पनीको कोषमा जम्मा रकम एक खर्ब २ अर्ब २८ करोड रुपैयाँ संचित रहेको छ ।
साथै यता कम्पनीको खुद बीमा शुल्क आर्जन समेत गत आवको तुलनामा ९.३८ प्रतिशतले घटेर ८ अर्ब ६८ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको यसै अवधिसम्म कम्पनीले ९ अर्ब ५८ करोड ६ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको थियो ।
यता कम्पनीको खुद दावी भुक्तानी २४.५५ प्रतिशत घटेर ३ अर्ब ९७ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ । साथै अभिकर्ता कमिशन २२.५९ प्रतिशत घटेर ७१ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ ।
बीमा शुल्क घटेपनि कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी भने २६.५४ प्रतिशतले बढेर ५ अर्ब २१ करोड १९ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्म कम्पनीको यस्तो आय ४ अर्ब ११ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।
आम्दानी बढेसँगै कम्पनीको खुद नाफामा समेत सुधार देखिएको छ । यस अवधिसम्म कम्पनीको खुद मुनाफा २८.४२ प्रतिशत बढेर ९ करोड ८७ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको छ । यता कम्पनीको जारी बीमा पोलिसी संखया भने सामान्य घटेर ६ लाख ८९ हजार ७६७ कायम भएको छ ।
चालु आवको पुष मसान्तसम्म कम्पनीको चुक्तापुँजी २० प्रतिशतले बढेर २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ पुगेको छ । साथै कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७२ पैसा, प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ५२ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ४२६८ रुपैयाँ २५ पैसा रहेको छ । एलआइसी नेपालले कायम चुक्तापुँजीको ८८ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारीमा रहेको छ । हकप्रद निष्काशनको लागि नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भइसकेको छ । हकप्रदपश्चात् कम्पनीको चुक्तापुँजी प्राधिकरणले तोकेबमोजिमको पुग्नेछ ।