रिलायबल नेपाल लाइफको जीवन बीमा कोषमा ५ अर्ब ६२ करोड संचिती, नाफासहित अधिकांस सूचकमा देखियो सुधार
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा प्रगति देखिएको छ ।
पुष मसान्तसम्म कम्पनीले ५ अर्ब ६२ करोड ९६ लाख रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । कम्पनीको बीमा कोषको आकार गत आवको तुलनामा ५५.८१ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिसम्म कम्पनीको यस्तो कोषमा ३ अर्ब ६१ करोड ३१ लाख रुपंैयाँ संचिती रहेको थियो ।
जीवन बीमा कोषको आकारसँगै कम्पनीले जगेडा कोषको आकार २८.१३ प्रतिशत र महाविपत्ती कोषको आकार ३२.२१ प्रतिशतले बढाउन सफल भएको छ । ओभरलमा कम्पनीको कोषमा जम्मा रकम ७ अर्ब ४ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, चालु आवको पुष मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क भने केही घट्न पुगेको छ । यस अवधिसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन १०.७४ प्रतिशतले घटेर एक अर्ब ७२ करोड २५ लाख रपैयाँमा सीमित भएको छ । तर कम्पनीको बीम शुल्क आर्जन घटेपनि लगानी, कर्जा तथा कमिशन वा अन्य आयत भने ५८.९६ प्रतिशतले बढ्न पुगेको छ । यस्तो आम्दानी बढेर ४१ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।
आम्दानी बढेसँगै कम्पनीको खुद नाफा समेत २१.९१ प्रतिशतले बढेर २२ करोड ४७ हजार रुपैयाँ पुगेको छ । आय र नाफा बढेपनि कम्पनीको व्यवस्थापन खर्च १.९० प्रतिशतले बढेका कारण अभिकर्ता कमिशन १४.२७ प्रतिशत घटेर २४ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ ।
यस अवधिसम्म कम्पनीको जारी बीमा पोलिसी संखया समेत २१.६९ प्रतिशतले घटेर ३६ लाख ७६ हजार ४१ मा कायम भएको छ । पुष मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्तापुँजी शतप्रतिशतले बढेर २ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।