प्रधानमन्त्री प्रचण्डसँग बेईजिङ सशंकित, राष्ट्रपतिमा चलखेल गर्न खोजेको आशंका

१ माघ २०७९, आईतवार ०८:२८

काठमाडौं । प्रधानमन्त्री प्रचण्डसँग उत्तरी छिमेकी मुलुक बेईजिङले ‘सरप्राईज झट्का’ महसुस गरेपछि सशंकित बन्न पुगेको छ । वाम गठबन्धन बनाउने र सम्भव भएसम्म पुनः पार्टी एकीकरण गरेर अघि बढ्नेसम्मको बृहद योजनामा रहेको बेईजिङलाई प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनु एक दिन अघि नाटकीय सरप्राईज दिएका थिए ।

प्रायः अन्तर्राष्ट्रिय सम्बन्धहरु यस्तै ‘सरप्राईज झट्का’का कारण बिग्रने गर्दछन् । यसअघि अघिल्लो निर्वाचनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोआओ फोरम फर एसियामा भाग लिन आउँछु भनेर प्रतिबद्धता जनाएपछि अन्तिम अवस्थामा भारत भ्रमणमा निस्केका थिए । सोही कारण बिग्रेको चीनसँगको सम्बन्ध सुमधुर बनाउन निकै समय लागेको थियो ।

यस पटक पनि बामपन्थी प्रधानमन्त्री प्रचण्डले बेईजिङलाई विगतकै शैलीको सरप्राइज झट्का दिएपछि सशंकित बन्न पुगेको हो । प्रधानमन्त्री प्रचण्ड आफूसँग विश्वासको मत हुँदा हुँदै सत्ता साझेदार पार्टीहरुप्रति अविश्वास गर्दै देउवा निवासमा शरणका लागि पुगेका थिए । पर्याप्त विश्वासको मत हुँदा हुँदै भारतीय डिजाइन अन्तर्गत पूर्व अर्थमन्त्री जनार्दन शर्मा कुरा सुनेर देउवा निवासमा मत माग्न पुगेका थिए ।

विगतमा बाम गठबन्धन हुँदा चुच्चे नक्सा जारी भएको र यस पटक पनि बाम गठबन्धनले केही न केही बिगार्न सक्ने भन्दै दिल्ली कुनै पनि हालतमा नेपालमा बाम गठबन्धन हुन नदिने योजनामा रहेको छ । अघिल्लो साताको शुक्रबार काठमाडौं उत्रिएको भारतीय विशेष व्यक्तिहरुसँगको गोप्य छलफल पछि प्रचण्ड धुम्बाराहीस्थित कांग्रेसका सभापति शेर बहादुर देउवा निवासमा पुगेको बेईजिङको विश्वास छ । शान्ति प्रक्रियामा आएदेखि पनि पटक पटक बेईजिङलाई धोका दिँदै आएका प्रचण्डलार्ई यसअघि पार्टी बिभाजन नगर्न बेईजिङले दरिलो आग्रह गरेको थियो ।

पछिल्लो पटक पहिलो भारत भ्रमणको तयारी भइरहेको भन्ने प्रम प्रचण्डकै अभिव्यक्तिसँगै बेईजिङको शंका थप पुष्टि भएको विश्लेषण अन्तर्राष्ट्रिय राजनीतिमा गरिएको छ । प्रचण्ड प्रधानमन्त्री बनेसँगै निकै उत्साहित रहेको बेईजिङ शपथ ग्रहणको २४ घण्टाभित्रैमा केरुङ–काठमाडौं रेलमार्गको अघि बढाउँदै जम्बो टोली नै काठमाडौंमा उतारेको थियो । त्यस्तैै, मनाङ मस्र्याङ्दी आयोजना निर्माण समेत शुभारम्भ गरिसकेको छ ।

उता, प्रचण्डले पुनः विगतकै शैलीमा दुई वटा डुंगामा खट्टा राख्दै कांग्रेससँग कुम जोड्न पुगेपछि एमालेको तर्फबाट राष्ट्रपति र सभामुख तथा सरकार प्याकेजमा डिल गरेर तत्काल एकै पटक निकास निकाल्न सुझाव अघि सारिएको छ । अहिले सरकार गठन सम्पन्न भएमा राष्ट्रपति पद भारतीय डिजाइनमा कांग्रेसलाई दिनसक्नेमा बेईजिङ थप सशंकित बन्न पुगेको छ ।

 

प्रचण्डले स्पष्ट रुपमा एमालेसँग राष्ट्रपतिका विषयमा प्रतिबद्धता जनाउन नसकेको सन्दर्भमा अहिले नै उनीमाथि विश्वास गर्न नहुने भएकोले सचेत हुनुपर्ने सुझाव अघि सारिएको हो । सोही कारण गत पुस २७ गते नै विस्तार भइसक्नुपर्र्ने सरकार अहिलेसम्म विस्तार हुन सकेको छैन । अझै केही दिन लम्ब्याएर प्रचण्डको नियत प्रष्ट भएपछि मात्रै सरकार राष्ट्रपतिको निर्वाचनमा प्याकेज डिल नभए माओवादीले भारतीय एजेन्टलाई नेपालको राष्ट्रपति बनाउन सक्ने जोखिम बढेको छ । विश्वस्त स्रोतका अनुसार दिल्लीको एउटा विशेष टोली अहिले पनि भारतीय एस म्यानलाई नेपालको राष्ट्रपति बनाउन काठमाडौंंमा सक्रिय रहेको छ । सोही टोलीले राष्ट्रपतिको निर्वाचन अघि नै प्रचण्डको दिल्ली भ्रमण गराएर वातावरण थप सहज बनाउन खोजेको देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*