मर्जपछि चुक्तापुँजीमा कुन बैंक बलियो ?
काठमाडौं । यतिबेला नेपाली बैकिङ्ग क्षेत्रमा १० वाणिज्य बैंकको मर्जर चर्चाको विषय बनेको छ । मर्जपछि सबैभन्दा ठूलो र बलियो कुन बैंक बन्ला भन्ने आम जनचासो बढेको छ ।
दश मध्ये आठ वाणिज्य बैंकले मर्जरको लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाइसकेका छन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू, प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, कुमारी बैंक र एनसीसी बैंकले नेपाल राष्ट्र बैंकबाट मर्जरको लागि अन्तिम स्वीकृति प्राप्त गरेका हुन् ।
जसमा हिमालयन बैंक र सिभिल बैंकले मर्जरको लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गर्न बाँकी नै छ ।
सो मध्ये कुमारी र एनसीसी बैंक लिमिटेडले यहि पुष १७ गतेबाट कुमारी बैंकको नामबाट एकीकृत कारोबार समेत सुरु गरिसकेका छन् । मर्जपछि कुमारी र एनसीसी बैंकको चुक्तापुँजी २५ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।
कुमारी र एनसीसी बाहेकका अन्य बैंकहरुले पनि पुष महिनाभित्रै एकीकृत कारोबार गर्ने जनाएको छ । ग्लोबल आइएमई बैंक र बीओकेले पुष २५ गते, प्रभु र सेन्चुरी बैंकले पुष २६ गते र मेगा र नेपाल इन्भेष्टमेन्ट बैंकले पुष २७ गते एकीकृत कारोबार सुरु गर्ने जनाएको छ । केन्द्रीय बैंकबाट अन्तिम स्वीकृती आउन बाँकी नै हुँदा पनि हिमालयन र सिभिल बैंकले पनि माघ महिनाभित्रै एकीकृत कारोबार गर्ने जनाएको छ ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू १ः१ रेसियोमा मर्जरमा जाने सम्झौता भएको हो । मर्जरपछि ग्लोबल आईएमई बैंकको नामबाट यहि पुष २५ गतेबाट एकीकृत कारोबार सुरु हुँदैछ । मर्जपछि बन्ने कम्पनीको चुक्तापुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ ।
त्यस्तै, प्रभु र सेन्चुरी बैंकको मर्जरले पनि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरिसकेका छन् । यी दुवै बैंकले प्रभु बैंकको नामबाट पुष २६ गतेबाट एकीकृत कारोबार गर्ने जनाएको छ । मर्जरपछि बन्ने बैंकको चुक्तापुँजी २२ अर्ब २६ करोड रुपैयाँ पुग्नेछ ।
साथै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जर पनि चर्चामा रहेको छ । मर्जपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट यहि पुष २७ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक १००ः९० स्वाप रेसियोमा मर्ज भएका हुन् । मर्जपछि बन्ने बैंकको चुक्तापुँजी ३४ अर्ब १२ करोड पुग्ने भएको छ । कम्पनी रजिष्टार्डको कार्यालयले अन्तिम स्वीकृति दिएअनुसार कम्पनीको कायम चुक्तापुँजी ३२ अर्ब १२ करोड हुने भएको हो ।
त्यस्तै, यता सिभिल बैंक र हिमालयन बैंकको मर्जर पनि चर्चामा छन् । यी दुवै बैंकबीच १००ः८१ को अनुपातमा मर्ज भएका हुन् । हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८१ स्वाप रेसियोमा प्राप्ति गरेको हो । मर्जपछि हिमालयन बैंककै नामबाट एकीकृत कारोबार सुरु हुनेछ । स्रोतका अनुसार यी दुवै बैंकको एकीकृत कारोबार माघको दोस्रो सातामा हुनेछ । तर मिति नै किटान भने अझै भएको छैन । सिभिल बैंक र हिमालयन बैंकको मर्जर सहमतिअनुसार बैंकको चुक्तापुँजी २० अर्ब ८१ करोड रहनेछ ।
तुलनात्मक रुपमा १० वाणिज्य बैंक मर्जपछि ५ बन्ने भएसँगै सबैभन्दा ठूलो बैंक अब ग्लोबल आइएमई बैंक बन्ने भएको छ । बैंकको चुक्तापुँजी ३४ अर्ब ४१ करोडमाथि पुग्नेछ । त्यस्तै, दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक दोस्रो ठूलो बैंक बन्नेछ, । तेस्रोमा कुमारी बैंक, चौथोमा प्रभु बैंक र पाँचौमा हिमालयन बैंक हुनेछ ।