दोधारा चाँदनी नगरपालिकामा जनचेतनामुलक कार्यक्रम, कृषि बीमामा कृषकको गुनासो
काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश धनगढीबाट कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका महाकाली पारीको विकट नगरपालिकामा जनचेतनामुलक अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, बिशेष अतिथिका रुपमा नगरपालिकाकी उप प्रमुख गंगा देवी जोशी अतिथिहरुमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्र, जनप्रतिनिधिहरु, नगरपालिकाका पशुशाखा, कृषि शाखा प्रमुख, कृषि तथा पशुपन्छी बीमाका लागि कञ्चनपुर जिल्ला तोकिएका बीमा कम्पनीका प्रतिनिधिहरु , जीवन बीमा कम्पनीका प्रतिनिधिहरु, स्थानीय अगुवा कृषक, कृषि सहकारि सस्थामा आबद्ध महिला तथा कृषक,बीमा अभिकर्ताहरु, सुरक्षा निकायका प्रमुख लगायत स्थानीय हरूको १०० भन्दा बढि सहभागिता रहेको थियो ।
उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश कार्यालयका सहायक निर्देशक दिपक ज्ञवालीले सञ्चालन गरेका थिए ।कार्यक्रममा सहभागीहरुले कृषि बीमा गर्न कहाँ जाने र कोही पनि बीमा गर्न नआएको, छाडा पशुको बीमा गर्न मिल्ने नमिल्ने, बीमा अभिकर्ताहरु पहिलो किस्ता बीमाशुल्क लिए पछि दोश्रो किस्ता लिन नआएको, जीवन बीमा भारतीय कम्पनीमा हुने गरेको, बीमा दाबी प्रकृया सहज हुनु पर्ने, प्रदेश सरकारले दिएको २० प्रतिशत कृषि बीमा अनुदान लिन झन्झटिलो रहेको, पशुबीमा बाख्राको दावी भुक्तानी नपाइएको, प्रचार प्रसारको कमीले गर्दा कृषि तथा पशुपन्छी बीमामा संघीय सरकारले तथा प्रदेश सरकारले दिएको अनुदान समेत थाहा नभएको जस्ता गुनासो गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले नेपाल बीमा प्राधिकरण यश प्रदेशमा स्थापना भएकोमा खुशि पनि व्यक्त गरेका थिए । कार्यक्रममा सहभागीहरूले राखेका गुनासाहरुको जबाफ प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले तथा सम्बन्धित बीमा कम्पनीका प्रतिनिधिहरुले दिएका थिए ।
उक्त कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बीमा प्राधिकरणलाई बीमा सम्बन्धि कार्यक्रम लिएर आएर धेरै कुरा जनाकारी दिएकोमा स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए।
साथै नगरपालिकाबाट यहाँका कृषक तथा नगर बासिहरुलाई बीमामा समेट्नका लागि नीति ,योजना बनाई लागू गर्ने कुरा राख्दै यस्तो महत्वपुर्ण कार्यक्रम फेरि पनि यस नगरपािलकामा राख्न अनुरोध गरेका थिए ।
कार्यक्रममा प्रदेश प्रमुख ओम बहादुर अधिकारिले स्थानीय तहबाट नगरपालिकाले समेत कृषकहरूको कृषि बीमा गर्दा थप सहुलियत प्रदान गरि कृषि पेशालाई थप आत्मनिर्भर र स्वरोजगार उन्मुख बनाउन र सरकारी सम्पत्ति तथा आम नगरबासिको घर लगायत अन्य सम्पत्तिहरु तथा सरकारी भवन, मठ मन्दिर, स्कुल, विद्यार्थी ,शिक्षकहरुको अनिवार्य बीमा गर्ने व्यवस्थाका लागि अनुरोध गर्नु भएको थियो ।
यसैगरी न्यून आय भएका तथा पिछडिएका वर्गलाई बिमामा समेट्ने उद्देश्यले नेपाल बिमा प्राधिकरणले सुदूरपश्चिम प्रदेशको धनगढीमा लघुबीमा कम्पनी स्थापना गर्न लागिएको कुरा पनि बताएका थिए ।
सहभागीहरूलाई आफुले लिएको बीमा सम्बन्धि ज्ञानलाई आफ्नो परिवार तथा छरछिमेकीहरुलाई पनि जानकारी गराउन आग्रह गरेको थियो ।
अन्तमा, कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने दोधारा चाँदनी नगरपालिका परिवार, बीमा कम्पनीका प्रतिनिधिहरु, बीमा अभिकर्ताहरु, सुरक्षा निकाय,विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, बीमा प्राधिकरणका सबैलाई धन्यवाद व्यक्त गरे ।