ऋणीले बीमा पोलीसी नवीकरण नगरे बैंकहरुलाई कर्जाबाट स्वत: नविकरण गराउन राष्ट्र बैंकको निर्देशन

२० पुष २०७९, बुधबार १७:३९

काठमाडौं । राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको तीन महिना नबित्दै चालुपुँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ।राष्ट्र बैंकले आज पत्रकार सम्मेलनको आयोजना गर्दै चालुपुँजी कर्जामा गरिएको संशोधनका विषयमा जानकारी गराएको हो। राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्श संसोधन गर्दै ऋणीहरुको बीमा पोलिसी म्यादमा थप कडाई गरेको छ।

ऋणीले बीमा पोलीसी नवीकरण नगरेमा बैंक तथा वित्तीय संस्थाले कर्जा खाताबाट खर्च गरी बीमा नविकरण गराउन निर्देशन दिएको छ।चालुपुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै बीमा पोलीसीको म्याद सकिनुभन्दा कम्तिमा १५ दिनअघि नै बैंक तथा वित्तीय संस्थाले सम्बन्धित ऋणीलाई बीमा पोलिसी नवीकरण गर्न जानकारी गराउनुपर्ने व्यवस्था उल्लेख गरेको छ।

बीमा पोलीसीको म्याद सकिन १ दिन बाँकी हुँदासम्म पनि ऋणीले बीमा पोलीसी नवीकरण नगरेमा बैंक तथा वित्तीय संस्थाले कर्जा खाताबाट खर्च गरी अनिवार्य बीमा नवीकरण गरेको हुनुपर्ने व्यवस्था रहेको छ ।

त्यस्तै, नयाँ व्यवस्था अनुसार बीमा गर्नु नपर्ने वा बीमा गर्दा कुनै जोखिम समावेश गर्नुनपर्ने कुनै कारण भएमा कर्जा स्वीकृत गर्दा अनिवार्य रुपमा उल्लेख गरेको हुनुपर्ने नयाँ व्यवस्था रहेको छ।बीमा गरिएको चालू सम्पत्तिको पहिलो दाबी कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको हुनुपर्ने उल्लेख गरेको छ। बीमा दाबी भुक्तानीबाट प्राप्त रकम कर्जा नियमित भएको अवस्थामा मात्र बैंक तथा वित्तीय संस्थाले ऋणीलाई रकमान्तर गर्न सक्ने व्यवस्था पालना गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

चालू पुँजी कर्जाको सुरक्षणका लागि Pledge वा Hypothecation जस्ता सुरक्षण, कर्जा तमसुक, प्रतिज्ञापत्र, बीमालेख लगायत अन्य आवश्यक सुरक्षण लिएर कर्जा लगानी गर्नुपर्ने चालु पुँजि कर्जा सम्बन्धी व्यवस्थामा उल्लेख रहेको छ।
बैंक तथा वित्तीय संस्थाले चालू पुँजी कर्जा स्वीकृत गर्दा धितोमा रहने मालसामानमा हुनसक्ने जोखिमको विश्लेषणको आधारमा अनिवार्य बीमा गर्ने व्यवस्था मिलाएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*