कालिका नगरपालिकाले गरिदियो चितवनका पत्रकारको दुर्घटना बीमा
काठमाडौं । चितवनको कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यहरूको १० लाखको दुर्घटना बीमा गरिदिएको छ ।
कालिका नगरपालिका प्रमुख विनोद रेग्मी र पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले बीमासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेर दुर्घटना बीमा सुरु गरेका हुन् । नगरपालिकाले पत्रकार सामूहिक दुर्घटना बीमा कार्यविधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेर महासंघसँग सम्झौता गरेको हो ।
आगामी दिनहरुमा बीमा कार्यक्रमलाई निरन्तरता दिने गरी कार्यविधि बनाएर व्यवस्थित गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिए । उनले नगरपालिकाप्रति पत्रकारहरुलाई सकारात्मक बनाउनका लागिभन्दा पनि सामाजिक उत्तरदायित्व सम्झिएर बीमा गरेको बताए ।
यो बीमाअन्तर्गत दुर्घटनाबाट मृत्यु भएकाको पत्रकारको परिवारलाई १० लाख र घाइते हुने पत्रकारको उपचार खर्च पाउने गरी कम्पनी छनोट गरेर बीमा गरिनेछ ।