मंसिर महिनामा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन साढे १३ अर्बमाथि, ८ कम्पनीको मात्रै बढ्यो (तथ्याङ्कसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुको मंसिर महिनामा कुल बीमा शुल्क आर्जन ३१.९५ प्रतिशतले बढ्न पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आवको ५ महिनाको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन एक महिनामा ३१ प्रतिशतले बढ्न पुगेको हो ।
मंसिर महिनामा १९ जीवन बीमा कम्पनीले १३ अर्ब ५० करोड ४६ लाख रुपैयाँ प्रिमियम कलेक्शन गरेका छन् । अघिल्लो महिना कात्तिकमा कम्पनीहरुले १० अर्ब २३ करोड ४६ लाख रुपैयाँ प्रिमियम कलेक्शन गरेका थिए ।
एक महिनाको अन्तरालतमा १९ मध्ये ८ कम्पनीको मात्रै कुल बीमा शुल्क आर्जन बढेको छ भने अन्य ११ कम्पनीको प्रिमियम कलेक्शन घट्न पुगेको छ । कात्तिक महिनाको तुलनामा मंसिर महिनामा बढी बीमाशुल्क आर्जन गर्नेमा राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थानले सो अवधिसम्म १०१९ प्रतिशतलले बीमा शुल्क आर्जन बढाएको छ । सो अवधिसम्म संस्थानले मात्रै ४ अर्ब ८ करोड बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो महिनामा संस्थानले जम्मा ३६ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।
त्यस्तै, मंसिर महिनामा कुल बीमा शुल्क आर्जनमा रिलायबल नेपाल लाइफ र आइएमई लाइफ इन्स्योरेन्सले पनि प्रगति गर्न सफल भएको छ । एक महिनामा रिलायबलले १५.५१ प्रतिशत र आइएमई लाइफले १५.२१ प्रतिशत बढीले प्रिमियम कलेक्शन बढाएका छन् ।
त्यस्तै, प्रभु लाइफको ११.९४ प्रतिशत, मेट लाइफको ११.३५ प्रतिशत, सिटिजन लाइफको ३.६६ प्रतिशत, ज्योति लाइफको ३.२७ प्रतिशत र एलआइसी नेपालको ०.७७ प्रतिशतले बढेको छ ।