दीपक मलहोत्राको सेटिङ विरुद्धमा विश्वभर ‘नो रेमिट्यान्स’ अभियान उर्लियो, मोबाइल काण्डमा पछाडि हट्दै प्राधिकरण

१५ पुष २०७९, शुक्रबार १०:५८

काठमाडौं । विदेशबाट आफ्ना आफन्तलाई नयाँ मोबाइल सेट पठाउँदा समेत त्रिवि भन्सारमा १८ प्रतिशत कर तिर्नुपर्ने तथा नेपाल दुरसञ्चार प्राधिकरणले भन्सार नतिरिएका मोबाइल एमडिएमएस सिष्टममा दर्ता नगर्ने नयाँ व्यवस्थाका विरुद्धमा विश्वभर छरिएर रहेका नेपालीहरु आन्दोलित भएका छन् । कुनै समय ट्रकमा राखेर नेपालमा सुन भित्राएको आरोप लागेको व्यवसायी दीपक मलहोत्राको डिजाइनमा नेपाल दुर सञ्चार प्राधिकरणले अघि बढाएको उक्त योजना असफल हुने निश्चित भएको छ ।

विश्वभरका नेपालीहरु एकजुट भई नो रेमिट्यान्स अभियान चलाएपछि सरकारको गम्भिर ध्यानाकर्षण भएको भन्दै तत्काल फिर्ता गर्न प्राधिकरणलाई निर्देशन दिइसकेको छ । प्राधिकरणले मोबाइल सेटका माफियाहरुसँग मिलेर सुरु गरेको सो सेटिङमा नेपालमा भित्रने सबै प्रकारको मोबाइलको भन्सार तिर्नै पर्ने भन्सार नतिरेको उपहार पठाएका, विदेशमा काम गर्नेहरुले घरमा पठाएका मोबाइल सेटहरु नेपालमा नचल्ने गरी मोबाइल सेटको आइएमई नम्बर दर्ता गर्ने एमडिएमएस सिष्टम सञ्चालन गरेको थियो । आजदेखि लागू हुने सो एमडिएमएसका विरुद्धमा विश्वभरका नेपालीहरु उर्लिएका छन् । जापान, कोरिया, मलेसिया, दुबई, कतार, अमेरिका, फ्रान्स, जर्मनी सहित विश्वभर नै प्राधिकरणले मोबाइल सेटमाथि गरेको सेटिङ नरोकिएसम्म नो रेमिट्यान्स अभियान चलाउने निर्णय गरेका छन् ।

अमेरिका देखि अष्ट्रेलिया, जापान र कोरियादेखि खाडी मुलुकसम्मका नेपालीहरु रेमिट्यान्स बन्द गर्ने घोषणासँगै सरकारको गम्भिर ध्यानाकर्षण भएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आजदेखि लागू हुने उक्त व्यवस्था तत्काल फिर्ता गर्न निर्देशन दिइसकिएको छ ।

 

प्राधिकरणका कार्यकारी अध्यक्ष पुरुषोत्तम खनालले आजदेखि लागू भएको एमडिएमएस व्यवस्था स्थगित गरिने बताए । अध्यक्ष खनालले कुनै कारण नबताई हालका लागि आजदेखि लागू गरिएको नयाँ व्यवस्था स्थगित हुने बताए । सामसङको मोबाइल नेपालमा बिक्री गर्दै आएका दीपक मलहोत्राको सेटिङमा झण्डै पाँच वर्षको प्रयासपछि मोबाइल डिभाइस ट्रयाकिङ सिष्टम जडान गरेर भन्सार तिरेर सिष्टममा दर्ता भएका मोबाइल मात्रै प्रयोग गर्न पाउने गरी प्राधिकरणले नयाँ व्यवस्था लागू गरेको थियो । आजदेखि सञ्चालनमा आएको उक्त सेटिङमा मोबाइल व्यवसायी मलहोत्राले अर्बौ रुपैयाँ सेटिङ मिलाएको जनाइएको छ । पूर्ववर्ती सरकारसँगको सेटिङमा करोडौं रुपैयाँ निर्वाचन खर्च आरजु राणालाई बुझाएका मलहोत्राको मोबाइल सेटमाथिको व्यवसायीहरुको एकाधिकार कायम गर्ने योजना यस पटक पनि असफल भएको छ । मलहोत्राको सो सेटिङमा लक्की ग्रुप र शंकर ग्रुप समेतको संलग्नता रहेको छ । शंकर ग्रुपले रियल मि रेडमी मोबाइल बिक्री गर्दै आएको छ ।

सीमित व्यापारीहरुले भन्सार तिरेर मोबाइल आयात गर्ने र बढि मुनाफामा राखेर मोबाइल सेटमाथि एकाधिकार गर्न खोजेका थिए । माफियाहरुको सेटिङका विरुद्धमा सामाजिक सञ्जालमा चलेको अभियानले अन्तर्राष्ट्रिय स्वरुप ग्रहण गर्दै विश्वव्यापी नो रेमिट्यान्स अभियान चलेपछि अर्थमन्त्री विष्णु पौडेलले तत्काल समाधान निकाल्न भूमिका खेलेका छन् । स्रोतका अनुसार प्राधिकरणले आजै निर्णय गरेर उक्त व्यवस्था हालको लागि स्थगित गर्नेछ ।

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*