प्राइम लाइफ इन्स्योरेन्ससहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । नेपाल इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंकको आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।
यी तीन वटै कम्पनीले पुष ८ गते बुकक्लोज गर्ने भएसँगै आज (पुष ७) गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।
नेपाल इन्स्योरेन्सले गत आव २०७८÷७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरलाई ८ प्रतिशत बोनस र ०.४२११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र ०. ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै, गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।