जीवन बीमाको पहिलो मर्जर,सूर्या र ज्योति लाइफको एकिकृत कारोबारको लागि पुस ६ गते सम्पुर्ण बीमा सेवा अवरुद्ध
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले पुस ७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई कम्पनीबीच असार १२ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएकोमा ६ महिनामा मर्जर सकेर एकीकृत कारोबार थाल्ने भएका हुन् ।
जसको कारण सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पुस ६ गते बुधबार एक दिनका सम्पुर्ण बीमा सेवा बन्द गर्ने भएको छ ।दुबैले मर्जर पछि हुने एकिकृत कारोबारका लागि एक दिन सेवा बन्द गर्न लागेको हो ।
दुई कम्पनीलाई एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा अन्तिम स्वीकृति दिएको थियो । कम्पनीले नेपाल बीमा प्राधिकरणबाट मंसिर २ गते प्रारम्भिक स्वीकृति तथा नेपाल धितोपत्र बोर्डबाट मंसिर २५ गते स्वीकृति पाएको थियो ।
यसअघि कार्तिक २८ गते सम्पन्न भएको दुबै कम्पनीको छुट्टाछुट्टै साधारण सभाले सूर्या लाइफ इन्स्योरेन्सको १ कित्ता सेयर बराबर ज्योति लाइफको ०.८२४५ कित्ता अनुपातमा मर्जरमा जाने र एकीकृत जीवन बीमा कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कायम गर्ने प्रस्ताव पारित गरेको थियो ।
जीवन बीमा कम्पनीतर्फ यो पहिलो सम्पन्न भएको मर्जर हो । निर्जीवन बीमा कम्पनीतर्फ भने दुई वटा सफल मर्जर सम्पन्न भएर चार वटा कम्पनी दुई वटामा कायम भइसकेका छन् । जीवन बीमा कम्पनीतर्फ अन्य कम्पनीहरु पनि मर्जरमा रहेको भएपनि एकीकृत कारोबार गरिसकेका छैनन् ।
हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । त्यस्तै ज्योतिको २ अर्ब ४२ करोड रुपैयाँ छ । स्वाप रेसियोका आधारमा ज्योति लाइफको चुक्ता पूँजी एक अर्ब ९९ करोड ५२ लाख ९० हजार कायम हुनेछ । स्वाप रेसियोका आधारमा मर्जर पछि बन्ने कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ ।