अर्थतन्त्रको निराशाजनक तथ्याङ्कको कारण बदनाम बन्दै अर्थमन्त्री जनार्दन शर्मा, पाँच महिनामा ९ प्रतिशत पुँजिगत खर्च

३ पुष २०७९, आईतवार १६:०९

काठमाडौं । करिब १७ महिना लामो कार्यकाल सकेर अर्थमन्त्री जनार्दन शर्मा विदा हुँदै गर्दा अर्थतन्त्रमा देखिएको कहालीलाग्दो समस्या र निराशाजनक तथ्याङ्कको कारण तनावमा पर्ने गरेका छन् ।

योग्य सल्लाहकार, कुशल प्रशासक बिना सेटिङ, भ्रष्टाचारजन्य उठबसमा काम गर्ने टिम बनाएका कारण जनार्दन शर्मालाई यसपटकको अर्थमन्त्रालयबाट हुने बहिर्गमन निकै गह्रौं र भारी हुने देखिएकोछ । अघिल्लो आवमा यसअघिको सरकारले बजेट ल्याएको कारण धेरै गर्नै पाइन भन्ने थियो तर, चालु आवको पाँच महिनाको तथ्याङ्कमा देशको अवस्था झनै भयावह र दयनीय बन्दै गएपछि मन्त्री शर्मा तनावमा पर्न थालेका छन् ।

देशको पछिल्लो अवस्थाको तथ्याङ डरलाग्दो अवस्थामा छ । चालु आवको पाँच महिनामा कूल खर्च चार खर्च ३८ अर्ब ७९ करोड नौ लाख रुपैयाँ छ । मंसिर मसान्तसम्म सरकारी खाता ७८ अर्ब ३६ करोड पाँच लाख रुपैयाँले ऋणात्मक छ । यस अवधीमा निर्वाचन आयोगबाट भएको करिब १५ अर्ब रुपैयाँ खर्च भएको छ । निर्वाचनको समयमा आचार संहिता लागेका कारण धेरै खर्च गर्न नपाउँदा समेत सरकारी खर्च २४.४६ प्रतिशत भएको तथ्याङ्कमा देखिएको छ । तर, राजश्व संकलन जम्मा २४.७१ प्रतिशत मात्रै छ । चालु आवको पाँच महिनाका अवधीमा एक चौथाई समेत राजश्व संकलन हुन नसकेपछि चालु आवमा सरकारी खर्च धान्नै विदेशबाट ऋण लिनुपर्ने अवस्था आउने देखिएको छ । कूल १७ खर्ब खर्च गर्ने लक्ष्य राखेको सरकारले १४ खर्ब ५८ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । तर, पाँच महिनाको अवधीमा सो लक्ष्यको एक चौथाई समेत पुग्न नसकेपछि अर्थमन्त्री जनार्दन शर्मा असफल भएको पुष्टि भएको छ ।

त्यस्तै, सरकारी खर्च उच्च अंकले बृद्धि हुने र राजश्व संकलन न्यून हुँदा भुक्तानी सन्तुलनमा बिग्रन गई देश आर्थिक रुपमा टाट पल्टिनेदिशातर्फ अघि बढेको देखिएको छ । लक्ष्य अनुसार सरकारले कम्तीमा ४० प्रतिशतभन्दा बढि राजश्व लक्ष्य भेट्टाउनुपर्नेमा त्यसमा असफल देखिएको छ । त्यस्तै विदेशी सहायता र अनुदानको प्रगति जम्मा ६.१६ प्रतिशत मात्रै छ भने अन्य आम्दानी शून्य छ । उता, खर्च भने ३०.२२ प्रतिशतसम्म गर्नुले सरकारमा गम्भिर आर्थिक विचलन आएको पुष्टि भएको छ । देशले आम्दानी नगर्ने र ऋण गरेर खर्च गरेका कारण समग्र देशको अवस्था कहालीलाग्दो अवस्थामा पुगेको छ ।

महालेखा परिक्षकको कार्यालयमा प्राप्त विवरण अनुसार यस अवधीमा जम्मा पुँजिगत खर्च ९ प्रतिशत मात्रै भएको छ । निर्वाचनका कारण बहुबर्षिय ठेक्का लगायतका कामहरु सुचारु भएपनि नयाँ बजेट खर्च गर्न रोकिएकोको कारण खर्च अझै कम देखिएको छ ।

 

 

चालु छैठौं महिनाबाट आयात खुल्ला गरिएको कारण केही राजश्व बृद्धि भएपनि निर्वाचनका कारण रोकिएका खर्चहरु धमाधम हुँदा सरकारी कोषमाथि थप भार पर्ने निश्चित छ । जसका कारण अर्थतन्त्रमा उत्पन्न हुने दवावको नैतिक जिम्मेवारी जनार्दन शर्माले लिनुपर्नेछ ।

कुनै समय उज्यालोको नायक भनेर चिनिएका अर्थमन्त्री जनार्दन शर्मा देशका ४५ लाखभन्दा बढि शेयर लगानीकर्तिाहरु अर्थमन्त्री जनार्दनको असफलताबारे जानकार छन् । लगानीकर्ताहरुलाई निराश बनाएका शर्माले जाँदा जाँदै देशको अर्थतन्त्रमा गम्भिर धक्का लगाउन लागेको बारेमा लगानीकर्ताहरु थप आक्रोसित हुँदैछन् । केही लगानीकर्ताहरुले नयाँ सरकार गठन गर्न थप केही दिन लाग्ने देखिएमा तत्कालै सडक आन्दोलनबाट अर्थमन्त्री शर्मालाई लखेट्नुपर्ने आवाज समेत उठ्न थालिसकेको छ ।

यसअघि ब्याजदर बृद्धिको विरुद्धमा उद्योगी व्यवसायीहरु आन्दोलित भए पनि उक्त आन्दोलनले ठोस आकार लिइसकेको छैन । अर्थमन्त्री शर्माले देशको अर्थतन्त्र सुधारको दिशामा ध्यान नदिएको र कमाई खाने क्षेत्रमा मात्रै ध्यान दिएको कारण देशको अर्थतन्त्र बिग्रिएको विश्लेषण आम जनतामा बन्दै गएको छ । पटक पटक भ्रष्टाचारमा मुछिनु, पटक पटक दलाल र माफियासँग नाम जोडिनुले मन्त्री शर्मा मात्रै नभएर सिंगो माओवादी केन्द्रमाथि नै जनताले गलत दृष्टिकोणबाट हेर्न थालिसकेका छन् ।

पार्टी र आफ्नो छवी धुमिल हुने गरी अर्थतन्त्र ध्वस्त हुँदा समेत अझै माफियाकै पछि लागिहेका अर्थमन्त्री शर्मालाई आम लगानीकर्ताहरुले पुनः अर्थमन्त्रालयमा देख्नु नपरोस् भन्ने कामना गरिरहेका छन् । नयाँ सरकार गठबन्धनको बन्ने र त्यसमा वर्तमान अर्थमन्त्री शर्माकै हालीमुहाली हुने चर्चासँगै शेयर लगानीकर्ताहरु अझै निराश र आक्रोसित बन्न पुगेका छन् ।

सीमित आफन्त र नातागोताको लागि देशको ढुकुटी बर्वाद पार्ने अर्थमन्त्री शर्मालाई देशको पछिल्लो आर्थिक तथ्याङ्कले थप तनाव र अप्ठेरो पार्ने देखिएको छ । तर, अप्ठेरो अवस्थामा सामना कसैलाई गाली गरेर, दोष अरुलाई थोपरेर समाधान सम्भव छैन । बरु उनी आफैबाट सुधार गरेर मात्रै सम्भव छ । चेतना भया ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*