राष्ट्रिय बीमा संस्थानद्वारा समाचारको खण्डन, समाचार सत्य भएको बीमापोष्टको भनाई

२० मंसिर २०७९, मंगलवार १७:२४

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले बीमापोष्टमा प्रकाशित समाचारको खण्डन गरेको छ । संस्थानका प्रमुख प्रशासक कवि प्रसाद पाठकले मंसिर २० गते खण्डन पत्र पठाउँदै समाचार तथ्यहिन भएको भन्दै लिखित खण्डन गरेको हो । बीमापोष्टले समाचार सत्य भएको पुनः स्पष्ट पारेको छ ।

संस्थानले पठाएको खण्डनः
प्रस्तुत सन्र्दभमा मिति २०७९।०८।१९ गते बीमा पोष्ट अनलाइनमा ‘राष्ट्रिय बीमा संस्थानको सिस्टमबाट २ अर्ब ९४ करोड रुपैया गायब । अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत शंकाको घेरामा’ शीर्षकमा आधारहिन समाचार प्रकाशित गरिएको हुदाँ सो समाचारमा लगाइएको आरोप तथ्यहिन भएकाले यस प्रति संस्थानको गम्भीर ध्यानाकर्षण भएको व्यहोरा जानकारी गराउंदै उक्त समाचार खण्डनको लागि अनुरोध गर्दछौं । साथै यस सम्बन्धमा भएको तथ्यसत्य व्यहोरा निम्नानुसार भएको जानकारी गराउदछौं ।

राष्ट्रिय बीमा संस्थानले आ.ब. २०७५/७६ देखि नै नागरिक लगानी कोषमार्फत राष्ट्र सेवक कर्मचारीहरुको सावधिक जीवन बीमा गरिदैँ आएको व्यहोरा अवगत भएकै विषय हो । चालु आ.ब. २०७९।८० मा राष्ट्र सेवक कर्मचारीहरुको सावधिक जीवन बीमा नवीकरण गर्ने कार्यका लागि नागरिक लगानी कोषबाट मिति २०७९।०४।०६ मा रु ३,००,००,००,०००।– (अक्षरेपी रु. तीन अर्व रुपैया मात्र) समेत प्राप्त गरी समयमानै आम्दानी जनाई लगानी समेत गरिसकेको तथ्य जानकारी गराउंदछौं । अण्डर राइटिङ्गको लागि नागरिक लगानी कोषबाट रकम र कर्मचारीको विवरण समेत प्राप्त हुनुपर्ने हुन्छ । तत्कालिन अवस्थामा कोषबाट रकम मात्र प्राप्त भएको तथा पछि प्राप्त भएको विवरणमा राष्ट्र सेवक कर्मचारीहरुको संख्या थप–घट भई विवरण समेत सच्याउनुपर्ने भएको साथै संस्थानको सिस्टममा अपटेड गर्न समेत केही समय लागेका कारणले बीमा शुल्क शीर्षकमा उक्त रकम संस्थानको प्रथम त्रैमासिक वित्तीय विवरणमा समावेश गर्न नसकिएको भएता पनि हाल सो रकम संस्थानको लेखा प्रणालीमा बीमा शुल्क शीर्षकमा राखिसकिएको व्यहोरा अवगत गराउदछौं । कुनै पनि मिडियाले समाचार प्रकाशन तथा प्रसारण गर्नु अगाडी सम्बन्धित निकायसँग त्यसको तथ्य–सत्य बुझ्न र समाचारको कारणले कुनै व्यक्तिलाई अवाञ्चित आरोप लगाउने कुरामा सचेत रहन समेत अनुरोध गर्दछौं ।

कवि प्रसाद पाठक, प्रशासक

बीमापोष्टको भनाईः समाचारमा तथ्यहिन आरोप लगाइएको छैन । यस खण्डन पत्रमा नै साउन ४ गते बीमा शुल्क बापतको रकम प्राप्त भएको उल्लेख गरिएकै छ । सो रकम वित्तिय विवरणमा नदेखाइएको समेत स्वीकार गरिएको छ । तीन अर्ब रुपैयाँ आम्दानी भएको तर संस्थानको आम्दानीमा बाँधिएको देखाइएन । साथै बीमा प्राधिकरणमा पठाउनुपर्ने विवरण समेत सही रुपमा नपठाई झुठा विवरण पठाइएको पुष्टि भएको छ । सरकारी कम्पनीमा हुने गैर जिम्मेवारपूर्ण कार्यको जिम्मेवारी नेतत्वमा बस्ने व्यक्तिले लिनुपर्दछ, उन्मुक्ति पाइदैन । –सम्पादक

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*