पाँच जीवन बीमा कम्पनीहरुलाई तत्कालै आईपिओ जारी गर्न बीमा प्राधिकरणको निर्देशन

१९ मंसिर २०७९, सोमबार २०:१६

काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणले पाँच नयाँ जीवन बीमा कम्पनीहरुलाई तत्काल आईपिओ जारी गर्न निर्देशन दिएको छ । लामो समयदेखि आईपिओ जारी गर्न नसकेर अल्झिरहेका रिलायबल नेपाल लाइफ, सन नेपाल लाईफ, सिटिजन लाइफ, आईएमई लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीलाई तत्कालै आईपिओ जारी गर्न निर्देशन दिएको हो ।

बीमा समितिबाट पाँच वर्षअघि लाइसेन्स लिँदा ३० प्रतिशत शेयर सर्वसाधारणलाई वितरण गर्ने प्रतिबद्धता जनाएका बीमा कम्पनीहरुले आईपिओ जारी नगरी प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने प्रयास गरिरहेका छन् । नियामक निकाय बीमा प्राधिकरणले अनेकन बहानामा सर्वसाधारणलाई शेयर वितरण गर्ने कुरा अल्झिने कार्य स्वीकार्य नभएको भन्दै तत्कालै आईपिओ जारी गर्न भनेको हो ।

उता, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आईपिओ जारी नै नगरी मर्जरमा जान खोजिरहेको छ । नियामक निकाय बीमा समितिले मर्जर हुन बाँकी रहेको अवस्थामा आईपिओ जारी गर्न बाँकी रहेका सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । महालक्ष्मी लाइफले नियामकलाई छक्याउँदै आईपिओ जारी नगरी अर्को आईपिओ जारी गरेको कम्पनीसँग मर्जरमा जान खोजेको छ । सँगै लाइसेन्स पाएका कम्पनीहरुले दुई वर्षअघि नै आईपिओ जारी गरिसकेका छन् ।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई आईपीओमा जानु अघि प्राधिकरणको सहमति अनिवार्य लिन निर्देशन दिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । जीवन बीमा कम्पनीहरु आफुखुशी सेबोनमा पुग्न थालेपछि बीमा प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।

हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरुमध्ये पाँच वटा जीवन बीमा कम्पनीहरुले आईपीओ जारी गरेका छैनन् । सिटिजन लाइफ, रिलायबल लाइफ, आइएमई लाइफ, महालक्ष्मी लाइफ र सन नेपाल लाइफले आईपीओ ल्याउन बाँकी छ । ती मध्ये रिलायबल नेपाल लाइफले आईपीओ जारी गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । नेपाल धितोपत्र बोर्डले यसअघि जीवन बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा आईपिओ जारी गर्न नदिने भन्दै रोकेको थियो । हाल सो प्रक्रिया खारेज भइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*