राष्ट्रिय बीमा संस्थानको सिष्टमबाट दुई अर्ब ९४ करोड रुपैयाँ गायब ! अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत शंकाको घेरामा

१९ मंसिर २०७९, सोमबार १६:५१

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको सिष्टमबाट दुई अर्ब ९४ करोड रुपैयाँ गायब भएको छ । उक्त घटनामा संस्थानका अध्यक्ष ईश्वर पौडेल र प्रमुख प्रशासकीय अधिकृत कवि प्रसाद पाठक शंकाको घेरामा परेका छन् ।

संस्थानका कर्मचारीहरुले नागरिक लगानी कोषबाट आएको दुई अर्ब ९४ करोड रुपैयाँ लेखाको सिष्टममा इन्ट्री नै नगरेको आरोप लगाएका छन् । सो घटनामा अध्यक्ष इश्वर पौडेल र प्रमुख प्रशासकीय अधिकृत कवि प्रसाद पाठक मिलेर ब्याज रकम हात पार्न सेटिङ गरेको हुनसक्ने जनाइएको छ ।

राष्ट्रिय बीमा संस्थानले गत साउन महिनामा नागरिक लगानी कोषमा बचत गर्ने कर्मचारीहरुको जीवन बीमा शुल्क (नविकरण) बापत दुई अर्ब ९४ करोड रुपैयाँ (करिब) भुक्तानी लिई सकेको छ ।तर, हालसम्म पनि सो रकम संस्थानको कुनै पनि सिष्टममा देखाइएको छैन । सो रकम संस्थानका लेखा प्रणालीमा नराखी सिधैं बैंकमा लगानी गरिएको छ । सो रकमबाट प्राप्त हुने ब्याजमा घोटाला गर्न त्यसो गरिएको संस्थान स्रोतको दावी छ।

हाल बजारमा प्रचलित दर अनुसार मासिक १ प्रतिशभन्दा बढि ब्याज आउँछ । सो आधारमा दुई अर्ब ९४ करोड रुपैयाँको ब्याज मात्रै मासिक करिब तीन करोड रुपैयाँ आउने छ । संस्थानकोे चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तीय विवरणमा समेत नागरिक लगानी कोषबाट प्राप्त दुई अर्ब ९४ करोड रुपैयाँ बीमा शुल्क देखाइएको छैन ।

प्रथम त्रैमासिक वित्तीय विवरणमा देखिएको कूल बीमा शुल्क आम्दानी ।

 

त्यस्तै, नियामक निकाय बीमा प्राधिकरणमा बुझाएको विवरणमा समेत दुई अर्ब ९४ करोड रुपैयाँ लुकाइएको छ । संस्थानले प्रकाशन गरेको पहिलो त्रैमासिक वित्तीय विवरणमा खुद बीमा शुल्क आम्दानी एक अर्ब १६ करोड ७२ लाख २९ हजार ३० रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरिएको देखाइएको छ ।

साथै बीमा प्राधिकरणमा बुझाएको वित्तीय विवरणमा समेत पहिलो त्रैमासमा एक अर्ब ६७ करोड खुद बीमा शुल्क आम्दानी गरेको विवरण बुझाएको छ । तर, सो विवरण झूठा हो ।बीमापोष्टले गरेको खोजविनको क्रममा संस्थानले नागरिक लगानी कोषबाट बीमा नविकरण शुल्क बापत २०७९ साउनमा करिब दुई अर्ब ९४ करोड रुपैयाँ चेकबाट बुझिलिएको र सो रकम बैंकमा लगानी समेत भइसकेको फेला परेको छ । तर, संस्थानको सिष्टममा रेकर्ड नै नराखेको फेला परेको छ।

अव्यवस्था, भद्रगोल र अराजकताका बीचमा चलेको सरकारी लगानीको कम्पनीका लागि यस्तो कुरा नयाँ भने होइन । विगतमा बैंकमा राखेको निक्षेप समेत लिन नगएको तथा कहाँ छ भन्ने समेत थाहा नपाएको विगतहरु रहेका छन् ।

प्रमुख प्रशासक कवि पाठकको भनाई:
संस्थानको पैसा कही गायब भएको छैन । नागरिक लगानी कोष र संस्थानको सिष्टम नमिलेकाले समस्या भएको थियो । अहिले सबै मिलेर सिष्टममा आइसकेको छ ।

बीमापोष्टको भनाईः  नागरिक लगानी कोषले पठाएको रकम संस्थानको खातामा आएको देखिएको तर साउनदेखि सिष्टममा नभएको रकम खोजी गरेको हो । वित्तीय विवरणमा समेत नदेखिएपछि रकम गायब भएकै ठहर्छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*