नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुको वित्तिय स्वस्थतामा कुन अब्बल ? प्रतिफल बढी पाउन कुन कम्पनी हेर्ने ?

६ मंसिर २०७९, मंगलवार १६:५३

काठमाडौं । नेपाल स्टक एकस्चेञ्जमा (नेप्से) मा सूचीकृत सबै जीवन बीमा कमपनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् । नेप्सेमा सूचीकृत सबै बीमा कम्पनीहरुबीचको तथ्यांक हेने हो भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ । अधिकाश सूचकमा कम्पनी अब्बल रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सले अधिकाँश सूचकमा आफ्नो अग्रता कायमै राख्न सफल भएको छ । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्ता पुँजि पुराउन निर्देशन दिईसकेको छ । सोहि बमोजिक बीमा कम्पनीहरु पुँजि बढाउने दौडमा लागिरहेका छन् । तर नेपाल लाइफलाई भने चुक्ता पुँजिको कुनै तनाव छैन ।
कम्पनीको चुक्ता पूँजी सबैभन्दा धेरै ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । अन्य वित्तिय सूचकमा पनिकम्पनी सूचीकृत कम्पनीहरुको तुलनामा अगाडि नै रहेको छ।

नेपाल लाइफपछि नेशनल लाइफको चुक्ता पूँजी अन्यको तुलनामा बढी अर्थात ४ अर्ब ३ करोड ५१ लाख रुपैयाँ रहेको छ । सानिमा लाइफ र प्रभु लाइफको चुक्ता पूँजी सबैभन्दा कम दुई अर्ब रुपैयाँ मात्रै रहेको छ ।

खुद बीमाशुल्कको आधारमा

नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुले यस अवधिमा कूल २८ अर्ब ९८ करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् । त्यसमा नेपाल लाइफको मात्रै ९ अर्ब ९३ करोड ९६ लाख रुपैयाँ रहेको छ ।
नेपाल लाइफ पछि एलआइसी नेपालले सबै भन्दा धेरै ४ अर्ब ४९ करोड रुपैयाँ र नेशनल लाइफले ४ अर्ब १८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् ।

त्यस्तै युनियन लाइफले १ अर्ब ८६ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ६४ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब २६ करोड रुपैयाँ र प्राइम लाइफले १ अर्ब १४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् । बाँकी कुनै पनि कम्पनीले खुद बीमाशुल्क १ अर्ब माथि संकलन गरेका छैनन् ।

खुद नाफामा आधारमा

नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब २४ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जसमध्ये सबैभन्दा धेरै खुद नाफा कमाउनेमा ज्योति लाइफ इन्स्योरेन्स रहेको छ । ज्योतिले यस अवधिमा २१ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

त्यसपछि, सूर्या लाइफले २० करोड ७३ लाख रुपैयाँ, नेपाल लाइफले १७ करोड ५७ लाख रुपैयाँ, रिलायन्स लाइफले १३ करोड १७ लाख रुपैयाँ, नेशनल लाइफले ११ करोड ७१ लख रुपैयाँ र एशियन लाइफले ११ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

सबै भन्दा कम नाफा कमाउनेमा युनियन लाइफ इन्स्योरेन्स रहेको छ । युनियनले यस अवधिमा २ करोड ७८ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । यता एलआईसी नेपाल भने ५९ लाख ३० हजार रुपैयाँले नोक्सानीमा रहेको छ ।

जगेडा कोषमा र जीवन बीमा कोष

जगेडा कोष र जीवन बीमा कोषको आधारमा पनि नेपाल लाइफ मजबुत देखिएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको जगेडा कोषमा सबै भन्दा धेरै १ अर्ब ९९ करोड रुपैयाँ र जीवन बीमा कोषमा पनि १ खर्ब ४२ अर्ब ८ करोड रुपैयाँ सञ्चित रहेको छ ।

नेपाल लाइफ पनि युनियन लाइफको जगेडा कोष मजबुत देखिएको छ । युनियनको जगेडा कोषमा १ अर्ब ३३ करोड रुपैयाँ संचित रहेको छ । जीवन बीमा कोषमा भने नेपाल लाइफ पछि एलआईसी नेपाल रहेको छ । यस अवधिमा एलआईसी नेपालको जीवन बीमा कोषमा ९७ अर्ब ५० करोड रुपैयाँ संचित रहेको छ ।

जीवन बीमा कोषमा सबैभन्दा कम प्रभु लाइफको ३ अर्ब ३४ करोड रुपैयाँ मात्रै रहेको छ भने जगेडा कोषमा सानिमा लाइफको ३० करोड ३ लाख रुपैयाँ मात्रै संचित रहेको छ ।

प्रतिशेयर आम्दानीमा , नेटवर्थमा

प्रतिशेयर आम्दानीमा ज्योति लाइफ इन्स्योरेन्स अघि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ज्योतिको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै ३५ रुपैयाँ ५६ पैसा रहेको छ ।

यस्तै, सूर्या लाइफको ३२ रुपैयाँ ५२ पैसा, रिलायन्स लाइफको २५ रुपैयाँ ८ पैसा, एशियन लाइफको १८ रुपैयाँ ४० पैसा, गुराँस लाइफको १२ रुपैयाँ १६ पैसा, नेशनल लाइफको ११ रुपैयाँ ६० पैसा र सानिमा लाइफको १० रुपैयाँ १२ पैसा रहेको छ ।सबैभन्दा कम प्रतिशेयर आम्दानी भने युनियन लाइफको रहेको छ । युनियन लाइफको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १६ पैसा मात्रै रहेको छ ।

यस्तै नोक्सानी रहेको एलआईसी नेपालको प्रतिशेयर आम्दानी भने नकारात्मक रहेको छ । एलआईसी नेपालको प्रतिशेयर आम्दानी ८८ पैसाले नकारात्मक हुन पुगेको हो ।

प्रतिशेयर नेटवर्थमा भने युनियन लाइफ इन्स्योरेन्स अघि देखिएको छ । यस अवधिमा युनियनको प्रतिशेयर नटवर्थ १६२ रुपैयाँ पैसा रहेको छ । युनियन पछि ज्योति लाइफको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ रहेको छ ।

सबैभन्दा कम नेटवर्थ भने सानिमा लाइफको रहेको छ । सानिमा लाइफको प्रतिशेयर नटवर्थ ११५ रुपैयाँ २ पैसा मात्रै रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*